१ जेष्ठ २०८२, बिहीबार

 

पत्रकार महासंघलाई सहयोगको वचन

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्र्वािचत उपाध्यक्ष प्रमोदकुमार श्रेष्ठ र चन्द्र ढकालले पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणमा सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन । शाखाले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै दुवै उपाध्यक्षले भवन निर्माण लगाएतका कार्यमा पत्रकार महासंघसँग सहकार्य गर्ने बताउनुभयो । सोही अवसरमा जिल्ला–नगरतर्फका उपाध्यक्ष श्रेष्ठले रु. २५ हजार सहयोगको घोषणा समेत गर्नुभयो ।
उहाँले पत्रकारिता पेशाको उत्थानमा उद्योगी, व्यवसायीहरु सँधै साथ रहने उल्लेख गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले पत्रकारहरुलाई सकारात्मक समाचार सम्प्रेषणमा विशेष जोड दिन आग्रह समेत गर्नुभयो । यशोसियट तर्फका उपाध्यक्ष चन्द्र ढकालले पनि पत्रकार महासंघको भवन निर्माणमा यथोचित सहयोग गर्ने वचन दिनुभएको छ । ढकालले व्यवसायिक र सामाजिक काममा आफू सँधै साझेदार बन्न चाहेको बताउनुभयो ।
‘धवलागिरि क्षेत्रमा हुने कुनैपनि व्यवसायिक र सामाजिक गतिविधिमा म संलग्न हुन चाहन्छु’ ढकालले भन्नुभयो । उहाँले पत्रकार महासंघ जस्तो समाजको पवित्र र जिम्वेबार संस्थालाई सबै पक्षको साथ, सहयोगको खाँचो औंल्याउनुभयो । कार्यक्रममा शाखाका अध्यक्ष दिल शिरीषले भवन निर्माणको लागत योजनासहित सहयोगको प्रस्तावनापत्र श्रेष्ठ र ढकाललाई प्रदान गर्नुभएको थियो । सो क्रममा बोल्दै अध्यक्ष शिरीषले भवन निर्माणमा उद्योगी, व्यवसायीहरुबाट पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
‘यहाँहरु निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको उच्च नेतृत्वमा पुग्नुभएको छ’ अध्यक्ष शिरीषले भन्नुभयो ‘पत्रकार महासंघको भवन बनाउने कार्यमा यहाँहरुको सहयोग र समन्वयको अपेक्षा गरिएको छ ।’ विभिन्न संस्था, सरकारी निकाय, व्यक्ति लगाएतबाट रु. २५ लाख संकलन भइसकेको भन्दै भवनको निर्माण कार्य शिघ्र सुरु हुने अध्यक्ष शिरीषले जानकारी दिनुभयो ।
सोही अवसरमा शाखाका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पत्रकार महासंघको भवन निर्माणको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष द्वय र केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठलाई महासंघका अध्यक्ष शिरीष लगाएतका पदाधिकारीहरुले स्वागत गरेका थिए । महासंघको इतिहासमा धवलागिरि क्षेत्रले पहिलोपटक केन्द्रीय नेतृत्व पाएको हो । उपाध्यक्ष श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्ष, केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष पदमा पुग्नुभएको हो ।
मुलुककै प्रतिष्ठित उद्यमीको रुपमा परिचित ढकालको गृहजिल्ला पनि बागलुङनै हो । बागलुङ निबासी केन्द्रीय सदस्य श्रेष्ठ यसअघि पनि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung