२६ बैशाख २०८१, बुधबार

 

बागलुङका ४ पत्रकारलाई कालिका पत्रकारिता पुरस्कार 

बागलुङ कालिका भगवती गुठीमा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार’ बाट बागलुङका चार जना पत्रकार पुरस्कृत भएका छन् ।

मन्दिरको विकास र प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट पु¥याएको योगदान बापत् पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।  २०७२ र २०७३ सालको पुरस्कार मंगलबार एउटै समारोहमा वितरण गरिएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । २०७२ सालको ‘कालिका पत्रकारिता पुरस्कार’ अन्नपूर्णकर्मी दिल शिरीष र गोरखापत्रकर्मी प्रदिप पन्तलाई प्रदान गरिएको छ ।

यस्तै, २०७३ सालको पुरस्कार कान्तिपुर दैनिकमा कार्यरत प्रकाश बराल र धवलागिरि टेलिभिजनमा कार्यरत सुवास आचार्यले प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल र गुठीका अध्यक्ष राजु खड्काले पत्रकारहरुलाई संयुक्त रुपमा जनही नगद पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र र दोसल्ला प्रदान गरे ।

पुरस्कार ग्रहणपछि बोल्दै पत्रकारहरुले आफूहरुलाई पुरस्कारले थप उत्प्रेरणा थपेको प्रतिक्रिया दिए । पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख पौडेलले धार्मिक सम्पदाको उत्थान र संरक्षणमा पत्रकारको अहम् भूमिका रहने बताए  ।

उनले गुठीले पुरस्कार स्थापना गरेर पत्रकारिता जगतको सम्मान गरेको उल्लेख गरे । गुठीका अध्यक्ष राजु खड्काले वर्षेनी दुई जना पत्रकारलाई ‘कालिका पत्रकारिता पुरस्कार’ प्रदान गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्