२ जेष्ठ २०८१, बुधबार

 

अद्भुत फेडेरर

३५ वर्षको उमेरमा पनि फेडेररले जितिरहनुको कारण के हो ?
रोजर फेडेररले बिम्बल्डन ओपन टेनिसको फाइनलमा मारिन सिलिचलाई आइतबार पराजित गर्न दुई घण्टा पनि खेल्नुपरेन । उनले सजिलै तीन सेट जिते र कीर्तिमान आठौंपल्ट अल इंग्ल्यान्ड क्लबमा ट्रफी कब्जा गरे । उनले यसपल्टको उपाधि यात्रामा कुनै एक सेट पनि गुमाएनन् । त्यसैले बिम्बल्डनका आठ उपाधिमा यसलाई सबभन्दा उत्कृष्ट सफलता पनि भनिएको छ ।
स्वीस फेडेरर ३५ वर्षका भइसकेका छन् । तर टेनिस कोर्टमा उनी त्यस्तो बूढो लाग्दैन । उनले जसरी खेल्छन्, त्यो साँच्चै कुनै टिन एजर्सले खेलिरहेजस्तो लाग्छ । किनभने उनी लोभलाग्दो टेनिस खेल्छन्, उत्कृष्ट खेल्छन्, एकदमै मिहिनेत गर्छन् । उनको खेल क्लासिक हुने गर्छ । त्यसैले त उनीभन्दा आठ वर्ष कान्छो क्रोएसियाली सिलिच सेन्टर कोर्टमा फिक्का देखिए । यो उमेरमा पनि उनले जुन स्तरमा खेलिरहेका छन्, त्यसले उनी साँच्चै अद्भुत खेलाडी हुन् भन्ने प्रमाणित गर्छ ।
फेडेररको पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि पनि बिम्बल्डन नै हो, जुन उनले सन् २००३ मा जितेका थिए । त्यसमा विश्व टेनिसमा उनको आधिपत्यको सुरुआत भने पनि हुन्छ । विश्व टेनिसको सबभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता ग्रान्डस्लाम हो । ग्रान्डस्लाममा सर्वाधिक सफल पुरुष फेडेरर नै हुन् । उनले १९ पल्ट ग्रान्डस्लाम उपाधि हात पारेका छन् ।
ग्रासकोर्ट उनको फेबरेट हो । त्यसैले बिम्बल्डनमा सर्वाधिक सफलता हात पार्नुलाई उनका लागि अनौठो मान्नु पर्दैन । क्ले कोर्टमा खेलिने फ्रेन्च ओपन उनको प्रकृतिको खेल होइन । उनी २००९ मा भने फ्रेन्च ओपन च्याम्पियन नै भएका थिए । उनी क्ले कोर्टमा राफेल नडालसँग चारपल्ट फाइनलमा पराजित भएका थिए । उनै स्पेनी नडाल फेडेररको करिअरको सबभन्दा कडा प्रतिद्वन्द्वी हुन् । फेडेररले हार्डकोर्टमा हुने अस्ट्रेलियन ओपन र यूएएस ओपनको उपाधि पाँच–पाँच पल्ट जितेका छन् । सन् २००४, २००६ र २००७ मा उनले फ्रेन्च ओपनबाहेक तीनै ग्रान्डस्लाम जितेका थिए । लगातार १० ग्रान्डस्लामको फाइनल खेल्ने पनि उनी नै हुन् । ग्रान्डस्लाममा उनी २९ पल्ट फाइनल पुगेका छन् ।
शान्त स्वभावका फेडेरर २०१२ मा बिम्बल्डन ओपन च्याम्पियन भएपछि तीन ग्रान्डस्लामको फाइनलमा हारेका थिए । उनको उमेर पनि चढ्दै गएको थियो । नोकाभ जोकोभिच, एन्डी मुरेले उत्कृष्ट लय समातेका थिए । त्यसैले फेडेररकै समर्थकले पनि बेलैमा उनले संन्यास लिइदिए हुन्थ्यो भन्न थालेका थिए । तर फेडेररले र्‍याकेटको कला देखाउन छाडेनन् । ‘कहिलेसम्म भन्ने थाहा छैन तर टेनिस खेलिरहन्छु,’ फेडेररले भनेका थिए, ‘आई लभ टेनिस ।’
उनले पाँच वर्षको प्रतीक्षापछि बल्ल २०१७ मा आएर ग्रान्डस्लाम जिते । उनले मेलबर्नको चर्को गर्मीमा जनवरीमा नडाललाई हराएर यो वर्षको पहिलो ग्रान्डस्लाम (अस्ट्रेलियन ओपन) जितेका थिए । ३१ वर्षीय नडालले फ्रेन्च ओपन दसौंपल्ट जित्दा भने फेडेरर आराम गरिरहेका थिए । बूढाहरूको वर्षमा परिणत भएको २०१७ को अन्तिम ग्रान्डस्लाम यूएस ओपन अगस्टमा सुरु हुँदै छ । यसमा पनि फेरि बूढा खेलाडी नै जम्ने हो कि भन्ने बहस सुरु भइसकेको छ ।
कीर्तिमान ३ सय २ साता विश्व वरीयताको शीर्षस्थानमा रहेका फेडेररले १९ वर्ष लामो व्यावसायिक खेल यात्रामा ९३ उपाधि जितेका छन् । घुँडाको चोट र ढाडको दुखाइले सताइएका उनले गत वर्ष धेरै समय रिकोभरीमै बिताएका थिए । उनले १२ महिनायता टुरका सात प्रतियोगिता मात्र खेलेका छन् । तैपनि उनी तेस्रो वरीयतामा छन् । ‘नम्बर १ मेरो लक्ष्य होइन तर त्यो भयो भने मेरा लागि अविश्वसनीय नै हुने,’ उनले मिडियासँग भनेका छन् ।
फेडेररको टेनिस मोहसँग जोडिएको सफलताले थुप्रै प्रश्न तेस्र्याएको छ । यो उमेरमा अरूले किन उनले जस्तो खेल्न सक्दैनन् ? के अर्को पुस्ताका खेलाडी स्तरीय छैनन् ? उनी आफैंले भने युवा खेलाडीलाई अझ आक्रामक भएर खेल्ने सुझाव दिएका छन् ।

 कान्तिपुर शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्