
ताराखोला गाउँपालिका वडा नम्बर–३ को काँक्राखोर आधारभुत विद्यालयमा पुस्तकालय स्थापनापछि सञ्चालनमा आएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पुस्तकालयको उद्घाटन गरेका हुन् ।
गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको सहयोगमा विद्यालय हाताभित्र ज्ञानपुञ्ज पुस्तकालय सञ्चालनमा ल्याईएको प्रधानाध्यापक धर्मदत्त उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घर्तीले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पुस्तकालयको महत्वपुर्ण भुमिका रहने बताए ।
‘पुस्तकालयमा भएका विभिन्न विधाका पुस्तकबाट वालवालिकाले धेरै कुरा सिक्ने अवसर पाउँछन्’, घर्तीले भने, ‘यसबाट शैक्षिक उपलब्धि सुधारमा समेत सहयोग पुग्नेछ ।’
उनले शैक्षिक सुधारको योजना गाउँपालिकाकै प्राथमिकतामा रहेको उल्लेख गरे ।
‘शिक्षामा गुणस्तर सुधार गर्दै व्यवहारिक सिकाईलाई प्रोत्साहन गर्ने हाम्रो योजना छ’, उनले अगाडी थपे, ‘सामुदायिक शिक्षाको सुधारले मात्र समग्र विकासको गतिलाई अघि बढाउन सकिन्छ, त्यसैले शैक्षिक सुधारमा हामी सचेत छौँ ।’
वडा अध्यक्ष डिलबहादुर बस्नेतले बिद्यालको शैक्षिक गुणस्तर सुधारमा अभिभावकको सक्रियता महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा गाउकार्यपालिका सदस्य तेजुमायाँ भण्डारी परियार, वाड सदस्य हेमन्त घिमिरे, पुस्तकालाय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष ईन्द्रप्रसाद निउरे, प्रधानाध्यापक धर्मदत्त उपाध्याय र गाजा डेभलभमेण्ट फाउण्डेसनका प्रतिनिधि प्रेमनाथ कँडेलले पुस्तकालयको सदुपयोगमा जोड दिए ।
कार्यक्रममा विद्यालयका सहयोगदाता तथा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनबहादुर लामिछानेको अध्यक्षता, प्रगतिशिल युवा परिवारका सदस्य सागर खत्रीको स्वागत मन्तव्य र पुर्व बिद्यार्थी शान्त खत्री मौसमको सञ्चालनमा सम्पन्न भएको थियो ।