मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) सकिएको छ ।
थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । मंगलबार देखि फालो पर्व सुरु भएको थियो ।
गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका ५ देखि १३ वर्ष मुनीका छेवार गरिसकेका कुमारहरुलाई कुमार यात्रामा सहभागी गराएर फालो पर्व मनाइएको हो । ४ चनमा जन्मिएका छोराहरु कुमारयात्रा (स्योपेन)मा सहभागी भएपछि भगवान नरिच्हेबको आर्शीवादले जिवनका लागि सक्षम र योग्य भएको सांस्कृतीक मान्यता पाउने थाकका संरक्षक हेमन्त गौचनले बताए ।
परापुर्व कालमा जंगलमा शिकार खेल्न गएका थकाली समुदायका युवाहरुले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेअनुसार सो स्थानमा गुम्बा बनाई राखे पश्चात गाउँमा अनिष्ट नहोस भनेर पुजाआजा गर्ने र थकाली पुरुषहरुले चुडा कर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागि हुने चलनको सुरुवात भएको स्थानीय अगुवाहरुको भनाई छ । स्योपेनमा सहभागी कुमारहरुले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पुजाआजा, आफन्तजनबाट आर्शिवाद लिने, देवताहरुको पुजाआजा गर्ने र थकाली भाषामा गित गाउँदै बाजागाजा सहित नाचगान गरेर गाउँ परिक्रमा गरी लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हानेका थिए ।

कुमार यात्रामा पूर्व वाणीज्यमन्त्री तथा सांसद रोमी गौचन सहित थकाली समुदायका अगुवा, थाक सात सय अन्तरगका मुखीया र स्थानीय बासिन्दाको सहभागीता रहेको थियो । स्योपेनमा सहभागी हुन अमेरीकाबाट समेत कुमार आएका थिए । कुमारहरु थकाली भाषाको गित गाएर थकाली पहिरनमा सजिएर नाचगानका साथै लामाहरुले कोतघरमा पुजाआजा गरेका थिए ।
फालोको अवसरमा थाक सात सय अन्तरगका गाउँको तर्फबाट सांस्कृतीक झाँकी, थकाली नृत्य प्रर्दशन गरेका थिए । फालो पर्व सञ्चालन गर्नका लागि थकाली सेवा समितिले स्थापना गरेको अक्षयकोषबाट थाक सात सय मुखीयालाई आर्थिक सहयोग गरेको थियो । २५ लाख रुपैयाको अक्षयकोषको ब्याजबाट मुखीयालाई एक लाख ३१ ह्जार रुपैया सहयोग गरिएको समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले बताए ।
परम्परागत सांस्कृतीलाई निरन्तरता दिनका लागि अक्षयकोषको ब्याजबाट फालो पर्व सञ्चालनका लागि सहयोग गर्ने व्यवस्था मिलाइएको समितिका महासचिव नरेशकुमार तुलाचनले बताए ।













































































































































































































