३ श्रावण २०८३, आईतवार

 

गलकोटे खरेल दाजुभईको यस्तो छ व्यवसायिक बाख्रा पालन पेशा (फोटो सहित)

पछिल्लो समयमा जिल्लाको गलकोट नगरपालिकामा अधिकांश युवा रोजगारीको लागि विदेशिएका छन । गलकोटबाट प्राय जापान, अमेरिका, युके, अष्ट्रेलिया सँगै खाडी मुलुक मलेसिया, कतार र युएईमा जाने क्रम दिनहुँ बढ्दो छ ।

यता गलकोट नगरपालिका–९ छिस दरबाराका दुई दाजु भाई भने गलकोट क्षेत्रमा रहेको कृषिको सम्भावनालाई अध्ययन गरि आधुनिक कृषि व्यावसायमा लागेका छन । दाजुभाई बिदुर र विपिन खरेल अघिल्लो बर्ष फागुनदेखि कृषिमा आकर्षित भएका हुन् । दाजु बिदुरले आफ्नो अध्ययनलाई स्नातकोत्तर प्रथम वर्षमा पुराएका छन । भाई बिपिन भने १२ उत्तिर्ण छन् ।

नगद ८ लाख रुपैयाँको लगानीमा उनीहरुले अहिले खरेल बाख्रा फर्मसँगै अन्य कृषि उत्पादन गर्दै आएका छन् । उनीहरुले गलकोटमा वैदेशिक रोजगारीको कारण आर्थिक रुपमा सबल बन्दै गए पनि त्यो दिगो नहुने बताउँछन् । उनीहरुले सामाजिक अवस्था बलियो नबने सम्म जति नै आर्थिक क्रान्ति भएपनि विकसित र सभ्य समाजको निर्माण गर्न नसकिने बताएका छन् ।

नेपाल जस्तो विकास उन्मुख देशको अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हुने गरेको भन्दै कृषिमा आवश्यक श्रोत, साधन र प्रविधिको प्रयोगको अभावले पछौटेपन रहेको तितो यथार्थ समेत हामी माँझ छरपष्ट रहेको गुनासो गरे ।

व्यावसायिक बाख्रा फर्म सञ्चालनको लागि आफनै करिब ७ रोपनी जग्गामा विभिन्न उन्नत जातको घाँस लगाएका छन । सिओफोर, पासपालङ, मुलाटो, टेम्बर, सेटरिया, राईखनिउँ, अम्रिसो, सुडान, नेपियर लगायतका ३ हजार विरुवा रोपिएको खरेलले जानकारी दिए ।

अहिले फर्ममा १६ वटा माउकक बाख्रा, २९ वटा पाठा पाठी बच्चा र ५ वटा ठुला बोका रहेका छन । खरेलले डेढ रोपनी जग्गामा राजमा दाल, अन्य तरकारी बाली र डेढ रोपनी जग्गामा अलैंची खेती समेत गरेका छन ।

यो प्रारम्भिक चरण भएकोले अहिले मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएको समेत जानकारी दिए । मेहनत र परिश्रम बढाउककदै आम्दानीको श्रोत समेत उल्लेख्य वृदि हुने र गर्ने लक्ष्य अनुरुप आफुहरु अगाडी बढिरहेको बताए ।

२५ वर्षिय बिपिन र २३ वर्षिय बिदुर खरेल परम्परागत पशुपालन र कृषिलाई अब समय सापेक्ष अगाडी बढाउन अहिले तल्लिन रहेका छन । उनीहरुको फर्म मध्यपहाडी लोकमार्ग नजिकै रहेकोले बजारीकरणमा समेत समस्या नरहेको बताए । उनीहरुले विभिन्न घाँसहरु परिक्षणको लागि रोपिएको समेत बताए ।

अबको डेढ वर्ष भित्र ३० वटा माउँ पाठी उत्पादन गर्ने र बोयर क्रस नेपालमा सफल देखिएकोले स्थानिय खरी सँग बोयर क्रस अनुसन्धानमा सफल रहेकोले आफुहरुको लक्ष्य पनि सोही कार्य गर्ने बताए । बोयर क्रसमा मनग्य आम्दानी गर्न सकिने उनीहरुको भनाई छ ।

कृषि उपजको माग तिव्र रुपमा बढदो रहेकोले माग अनुसारको कृषि उपज उत्पादन गर्दै कृषिलाई मर्यादित पेशाको रुप दिई यस क्षेत्रमा उत्पादन देखि बजार सम्म सहकारीकरणको व्यवस्था गर्न सकेमा नेपालको कृषि क्षेत्रबाट आफनो कुल ग्राहस्त उत्पादनमा वृद्वि गर्न सक्ने अवस्था रहेको खरेल दाजुभाईले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung