जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले नेपालको आर्थिक विकासका लागि कृषिजन्य उद्यमको विकास गर्नु पर्नेमा जोड दिए । मिर्मिरे कृषि सहकारी संस्था लिमिटेड बानपा–३ कृषि गाउँ बागलुङले आयोजना गरेको २ दिने सहकारी शिक्षा तथा नेतृत्व विकास तालिमको शुक्रवार उद्घाटन पछि बोल्दै ढुंगानाले यस्तो बताउनु भएको हो ।
मुलुक कृषि प्रधान भए पनि कृषि क्षेत्रको सही परिचालन हुन नसक्दा देश आत्मनिर्भर बन्न नसकेको भन्दै उनले आयात रोक्न र निर्यात प्रवद्र्धनका लागि कृषि क्षेत्रको विकास सम्बन्धी प्रभावकारी योजना आवश्यक रहेको बताए । राज्यले कृषि क्षेत्रका लागि दिने अनुदान ठिक ढंगले परिचालन नभएको गुनासो गर्दै उहाँले वास्तविक किसानहरुलाई उत्पादन बढाउन प्रोत्साहन हुने गरी सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले कृषि क्षेत्रमा लागेर अर्ध वेरोजगारका रुपमा रहेका कृषकहरुलाई वैकल्पिक आयस्रोतको उपाय खोज्न सहकारीहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । हाम्रो देशमा कृषि, पशुपालनसंगै जलस्रोत र पर्यटन प्रवद्र्धनको प्रशस्त संभावना भएपनि त्यसको पहिचान, परिचालन र व्यवस्थान हुन नसक्दा युवा पुस्ता विदेशिने र कृषिसंग जोडिएका जनता विस्तारै त्यो क्षेत्रबाट पलायन हुदै गएको उनको भनाइ थियो ।
युवालाई कृषिजन्य उत्पादनमा जोड्नका लागि कृषि मैत्री योजना निर्माण गर्नु पर्ने भन्दै जिसीले हरेक व्यक्तिलाई उद्यमशिल र व्यवसायको मालिक बनाउने उपयुक्त माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि राज्यले यथेष्ट ध्यान दिनु पर्ने सुझाव दिए । तालिम उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चन्द्रनिधि पौडेलको स्वागत र कोषाध्यक्ष थानेश्वर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सहजीकरण गर्ने तालिममा संस्थाका सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, अगुवा कृषक शेयर सदस्यहरु र कर्मचारी गरी २५ जनाको सहभागिता रहेको कोषाध्यक्ष सुवेदीले जानकारी दिए ।
नेपालमै पहिलो पटक कृषक परिचय पत्र प्राप्त गर्ने अगुवा कृषक गंगाबहादुर थापा सहितका कृषकहरुले सञ्चालन गरेको मिर्मिरे कृषि सहकारी संस्थाले सामुहिक खेती, बंगुरपालन, माछापालन, केरा खेती लगायतको व्यवसाय संस्थागत रुपमा सञ्चालन गरेको छ । संस्थाले शेयर सदस्यहरुलाई तरकारी खेती, नर्सरी सञ्चालन, च्याउ माछा, बंगुरपालन लगायतका क्षेत्रमा लगानी गरेको छ । २ सय २० जना शेयर सदस्य रहेको संस्थामा ३० लाख शेयर रकम, ५७ लाख वचत, ८० लाख लगानी रहेको छ ।













































































































































































































