१ जेष्ठ २०८२, बिहीबार

 

वामपन्थीको घुम्ती पत्रकार सम्मेलनः ‘स्थानीय स्रोत परिचालन मार्फत समृद्धि’ पाठक

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ का साझा उमेदवार नेकपा एमालेका युवा नेता डा.सूर्य पाठकले नेपालको आर्थिक विकासका लागि स्थानीय स्रोत साधनको परिचालन आवश्यक रहेको बताए ।    प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशिल पत्रकार संघ बागलुङले बुधवार बागलुङ नगरपालिका १४ नारायणस्थानमा आयोजना गरेको घुम्ति पत्रकार सम्मेलनमा बोल्दै उमेदवार पाठकले यस्तो बताएका हुन ।

थुप्रै स्रोतहरु पहिचान, उत्पादन र परिचालनको अभावमा खेर गैरहेका छन्, राज्यको नीति स्थानीय स्रोतको परिचालन भन्दा पनि आयात गर्नेतर्फ केन्द्रीत भएकाले देशको आर्थिक विकास हुन नसकेको बताए । उनले जनतासंग भएको श्रम, सिप र पूँजिलाई परिचालन गरी देशलाई आर्थिक रुपमा सवल बनाउन सकिने थुप्रै संभावना भए पनि राज्य सञ्चालकहरुको ध्यान नपुग्दा देश गरिव भएको दावी गरे । स्थानीय स्तरमा रहेका स्रोतको परिचालन गर्न सके स्वदेशमै रोजगारी हुने र युवा पुस्ता विदेशिने समस्या कम हुदै जाने उनको भनाइ छ ।

उनले संघिय संसदमा जितेर गएपछि स्थानीय स्रोत परिचालनका लागि सक्दो पहलकदमी गर्ने र जनतालाई आत्मनिर्भर बनाउने नीति निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । संघीय संसदमा देश र जनताको हकहितमा नीति निर्माण गर्ने शिक्षा नीति परिवर्तन गरी सबैको पहुँच पुग्ने वातावरण बनाउन प्रयत्न गर्ने, स्वास्थ्य नीतिमा सुधार गरी सर्वसुलभ र गुणस्तरीय बनाउन निरन्तर लाग्ने प्रतिबद्धता   व्यक्त गरे ।    अध्ययनका क्रममा प्रवासमा रहदाँ हासिल गरेको ज्ञान, सीप र दक्षतालाई इमान्दारीका साथ नेपालको अधिकतम हितमा लगाउनका लागि उमेदवार भएको भन्दै पाठकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न पहले गर्ने बताए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै एमाले नेता पाठकले मंसिर १० गते हुने निर्वाचनमा बागलुङमा वामगठबन्धनले धेरै मतको अन्तरमा जित हासिल गर्ने दावी समेत गरे ।   नेकपा एमाले लगायत वामपन्थी दलहरुले राष्ट्रियता, जनजिविका, विकास निर्माण, सामाजिक सुरक्षा लगायतका विषयमा गरेका काम र स्थिर सरकार निर्माणका लागि वामपन्थीहरुबीचको एकता र सहकार्यबाट जनता उत्साहित भएकोले वामपन्थीको जित सुनिश्चित भइसकेको पाठकको दावी छ ।    कार्यक्रममा बागलुङ–१, प्रदेशसभा (२) का उमेदवार तथा राष्ट्रिय जनमोर्चाका पूर्व जिल्ला अध्यक्ष कृष्ण थापाले आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वामपन्थीलाई मत दिन जनता आतुर रहेको बताए ।

नेपाली कांग्रेसले लामो समय सत्तामा बसेर पनि जनताका समस्यालाई सम्बोधन गर्न नसकेको  र बामपन्थीहरुले छोटो समय सत्ता पाउदा पनि बढी काम गरेकोले यस पटक वामपन्थीलाई बहुमत सहित जिताउने प्रतिवद्धता गरेको उनको भनाइ छ । विगतमा विकास निर्माण लगायत समाज रुपान्तरणका काम गर्न खोज्दा सत्तामा बसेको कांग्रेस बाधकका रुपमा रहेको भन्दै थापाले यस पटक तलदेखि माथि सम्म बामपन्थीहरुको नेतृत्व हुने भएकाले ५ वर्षमा जनताले महसुस गर्ने गरी विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता गरेका दुवैजना उमेदवारले विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् । कार्यक्रम प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापाको अध्यक्षता, प्रेस चौतारीका सुवास गौतमको स्वागत र प्रगतिशिल पत्रकार संघका विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung