ढोरपाटन नगरपालिकाको वडा नम्बर १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा सञ्चालित अपांगता कक्षामा सहभागी वाल वालिकालाई शुक्रबार छात्रवृत्ती वितरण गरिएको छ । २० जना अपांगता भएका वाल वालिकाले अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीका अभिभावकलाई जिल्ला शिक्षा कार्यलय बागलुङले उपलब्ध गराएको रु ५० हजार वितरण गरिएको हो । शुक्रबार एक कार्यक्रम गरी मासिक ५ सय रुपैयाँका दरले १० महिनाको प्रति व्याक्ति ५ हजारका दरले कुल ५० हजार रुपैयाँ छात्रवृत्ती वितरण गरिएको उत्तरगंगा माविका प्रध्यानाध्यापक धनबहादुर कुवरले बताए ।
क्षेत्र नम्बर २ का अपांगता भएका वाल वालिकालाई लक्षित गरी बुर्तिबाङमा खाने बस्ने सुविधा सहितको अपांगता कक्षा सञ्चालन भईरहेको छ । अपांगता कक्षाका लागि प्लान नेपालले भवन निर्माण गरिदिएको छ । छात्रवृत्ती वितरण कार्यक्रमका प्रमुख अतिथी एवं उत्तर गंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक धनबहादुर कुवंरले शारीरिक तथा बौद्धिक रुपले अपाङ्गता भएका विद्यार्थीहरुले चाहे जस्तो सुकै काम पनि गर्ने भन्दै अभिभावकलाई अब आउँदो शैक्षिक सत्रको सुरुमै आफ्ना वाल वालिकाहरुलाई भर्ना गर्न आग्रह गरेका थिए ।
आफ्नो कार्यकाल सकिनै लागेका कुँवरले अपांगता कक्षालाई सक्दो सहयोग गर्ने बताए । अपांग सरोकार संघ बाग्लुङका पुर्व अध्यक्ष चुडाबहादुर कुँवरले आफुले पनि सहयोग गर्ने बताउदै अन्य क्षेत्रबाट समेत सहयोग गर्न अपिल गरे । अपांग सरोकार संघ बाग्लुङका पुर्व अध्यक्ष चुडा वहादुर कुवरको अध्यक्षता अपांगता कक्षाकी शिक्षिका कल्पना भट्राई र विद्यालयका शिक्षक चित्रबहादुर पुनको विशिष्ट आतिथ्यता र शिक्षक विष्णु चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

































































































































































































