
बागलुङ महोत्सवको तेस्रो दिन अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै डिजे कन्सर्टमा हजारौँ दर्शकहरु रातको १ बजेसम्म छमछमी नाचेका थिए । २०१७ लाई बिदाई र नयाँ वर्ष २०१८ लाई स्वागत गर्न रातको १२ बजेसम्म डिजे कन्सर्टमा झुम्न दर्शकहरुको व्यापक उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा गायक श्री कृष्णबम मल्ल, सुरज श्रेष्ठ, लक्ष्मी मल्ल लगायतका कलाकारहरुले समेत दर्शकलाई नचाएका थिए ।
बागलुङ गलकोट मै घर
नेपाल मेरो देश
जापान जान्छु भन्दिन
जर्मन जान्छु भन्दिन
आफ्नै देशमा दुख गर्छु
यहि छ मलाई बेश
घुम्टे लेखको काखमा मर्छु
यहि छ मलाई बेश
आफैले लेखेको जीवन दर्शनमा आधारित गीत कृष्ण बम मल्लले गाउँदा आफ्नो पुरानो जन्म घर सम्झेँदै धेरै दर्शक झुमेर नाचेका थिए । महोत्सव अवधि भर चर्चित कलाकारहरुको प्रस्तुती रहने कलाकार व्यवस्थापन उप–समिति संयोजक राजन शाक्यले बताए ।
त्यस्तै खुल्ला पुरुष भलिबल तर्फ काठेखोला गाउँपालिका, तेईस नम्बर बाईनी र गलकोट नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेका छन । पुरुष भलिबलमा १२ टिमको सहभागिता रहेको छ ।
महोत्सव पौष २३ गतेसम्म संचालन हुने छ । त्यसबेला सम्म दर्जनौ कलकारहरुको प्रस्तुती रहने, उँट नाच लगाएतका मनोरञ्जनात्क कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।
फोटो मञ्जुल :शाक्य