
पर्वत जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुले जिल्लाको विकास आफुहरुको एकमात्र लक्ष भएको बताएका छन् ।
पर्वत उद्योग बाणिज्य संघले आइतवार विहान आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले आगामी पाँच वर्ष पर्वतको कायापलट हुने गरी विकास गर्ने बताए । उनले आफुलाई अन्य कुनै स्वास्र्थ नभई पर्वत र पर्ववासी नागरिकको हित एकमात्र स्वार्थ भएको बताए । उनले पर्वत जिल्लाका नागरिकको समृद्धिका लागि दिन दोगुना र रात चौगुना हुने गरी काम गर्ने बताए । गिरीले आफुमाथि थुप्रै खालको जिम्मेवारी प्राप्त भएको बताउँदै साच्चिकै विकासको मुलु फुट्नेगरी काम गर्ने बताए । उनले केन्द्रमा नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त नगर्दा समस्या भएको बताए ।
प्रदेश सभा सदस्य नेत्र अधिकारीले पर्वतको समग्र विकासका लागि आफु सकारात्मक रहेको बताउँदै निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले निजि, सहकारी र सरकारी क्षेत्रसँगको तीन खम्बे अर्थनितिको पक्षमा आफुहरु लड्ने बताउँदै निजि क्षेत्रले शुरुवात गरेका काममा आफुले सक्रिय भएर सहयोग गर्ने बताए ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पर्वतको समग्र उद्योग, व्यावसाय र निजि क्षेत्रको अवस्थाका बारेमा जानकारी गराएका थिए ।महासचिब ठाकुरबी पौडेलले संचालन गरेको कार्यक्रममा धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष गोपि अधिकारीले गरेका थिए ।
सो अवसरमा उद्योग बाणिज्य संघको उपशाखा मल्ला उद्योग बाणिज्य संघको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष डिलबहादुर बरुवाललाई पनि बधाई तथा सम्मान गरिएको थियो ।