
बेनी नगरपालिकाले एकिकृत सम्पत्तिकर लागु गर्न सम्पत्ति मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि एकिकृत सम्पत्तिकर लागु गर्ने निर्णय कार्यान्वयनका लागि नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको मूल्याङ्कन समितिले मूल्याङ्कनको आधार तय गरि वडा कार्यालय र सरोकारवालासंग को परामर्शलाई तीब्रता दिएको हो ।
नगर क्षेत्र भित्रका घर र जग्गालाई आवासीय, औद्योगीक, व्यापारीक, कृषि र अन्य वर्गमा विभाजन गरी मूल्याङ्कन गरिने भएको छ । नगर प्रमुख श्रेष्ठले व्यवहारीक र दिर्घकालीन हुने गरी करको दर निर्धारण गर्न परामर्शलाई तीब्रता दिइएको बताए ।
यसैक्रममा मंगलबार नगरपालिकाका जनप्रतिनिधि, मूल्याङ्कन समिति, नगर विकास प्रशिक्षण केन्द्र पोखरा र एकिकृत सम्पत्ती कर लागू गराउन सरकारलाई सघाउदै आएको दातृ निकाय जाईकाका प्रतिनिधिबीच बेनीमा छलफल भएको छ ।
घर र जग्गाको न्युतम दररेट निर्धारणका विषयमा उत्पन्न भएका अन्यौलताको विषयमा छलफल भएको थियो । वैदेशिक रोजगार र बैङ्कीङ प्रयोजनका लागि एकिकृत सम्पत्ति करका लागि कायम गरिएको दररेटले असर गर्ने नगर्ने भन्ने विषयमा अन्यौलता देखिएको छ ।
नगरवासीहरुलाई सम्पत्तिकरको फाईदाको बारेमा जानकारी गराउनुपर्ने आवश्यकता रहेको बताइएको छ । छलफलका क्रममा प्रजिअ कृष्णप्रसाद अधिकारीले स्थानीय तहलाई बलियो बनाउन करलाई व्यवस्थित र व्यवहारीक बनाउनुपर्ने बताए ।
नगर विकास प्रशिक्षण केन्द्र पोखराका ऋषीराम पाण्डेले नगर क्षेत्रमा सम्पत्ती मूल्याङ्कनको आधार एउटै बनाउनुपर्ने बताउँदै वैदेशिक प्रयोजनका लागि अधिकतम मूल्याङ्कन गरि सिफारीस गर्न सकिने र बैङ्कीङ प्रयोजनका लागि एकिकृत सम्पत्तीकरको दररेटले काम नगर्ने स्पष्ट पारे ।
उनले नगरवासीहरुलाई घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा भएको भञ्जटबाट मुक्त गर्न एकिकृत सम्पत्ती कर लागू भएपछि सहज हुने र नगरको विकासमा उक्त कर बजेटको रुपमा परिचालन हुने सन्देश प्रवाह गराउन सकेमा जनतामा रहेको भ्रम निवारण हुने बताए ।
वडाअध्यक्षहरु हिराबहादुर थापा, गोविन्द पौडेल, कृष्णबहादुर बानिया, राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली र बेलबहादुर चोखालले अस्पष्टताका कारण सम्पत्ती मूल्याङ्कनमा अन्यौलता देखिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले नगरबासीको अचल सम्पत्ती (घरजग्गा) को विवरण संकलन, मूल्याङ्कन र कर निर्धारण गरेर २०७५ साउनदेखि एकिकृत सम्पत्ती कर लागू गरिने बताए ।
सम्पत्तीको आधारमा तिरीने, जग्गा र संरचनाको पटक पटक कर तिर्न नपर्ने हुँदा दोहोरो नपर्ने, आफूले तिर्नुपर्ने रकमको बारेमा पहिलेनै जानकारी हुने भएकाले एकिकृत सम्पत्तीकर वैज्ञानीक र बढी न्यायोचित हुने शर्माले बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले करको दायरा फराकीलो बनाउनु सकारात्मक भएको बताउदै नगरबासीलाई खुसी भएर कर तिर्न अग्रसर हुने वातावरण बनाउनुपर्ने सुझाव दिए ।
नगरप्रमुख श्रेष्ठको अध्यक्षता, उपप्रमुख सञ्जु बरुवालको स्वागत र लेखा अधिकृत युक्तप्रसाद शर्माको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।