३ श्रावण २०८३, आईतवार

 

नबिल बैंकले कुलिङ पिरियडलाई गलत आशयले व्याख्या गरेको राष्ट्र बैंकको ठहर

कुलिङ पिरियडको मर्मलार्इ कुल्चिदैं अनिल शाहलार्इ डेपुटी सिइओमा नियुक्त गर्ने नविल बैंकको निर्णयलार्इ राष्ट्र बैंकले वैधानिकता नदिने संकेत गरेको छ।नविलले चोर बाटो प्रयोग गरेर विहिबार शाहलार्इ डेपुटी सिइओमा नियुक्त गरेको थियो।

राष्ट्र बैंकले गत पुस १३ गते एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत अर्को बैंकमा कम्तिमा ६ महिना जान नपाउने व्यवस्था गरेको थियो। यही व्यवस्थाका कारण गत सोमबारको नविल बैंकको सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने अघिल्लो निर्णय खारेज गरेको थियो।
मेगा बैंकबाट दुई कार्यकाल सकेपछि उनी अवकाश भइसकेका छन्। कुलिङ पिरियडका कारण अर्को बैंकको प्रमुख कार्यकारी हुन शाहले जेठसम्म कुर्नुपर्छ। त्यही कारण नविलले उनलाई भविष्यमा प्रमुख कार्यकारी बनाउने गरी बिहीबार डेपुटी सिइओ नियुक्त गरेको हो।
कुलिङ पिरियडको गलत आशयले ब्याख्या गरेको भन्दै राष्ट्र बैंकले शाहको नियुक्तिलाई वैधानिकता दिन नसकिने संकेत गरेको हो। राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले कुलिङ पिरियडको निर्देशिका संस्थागत सुशासनसँग सम्बन्धित भएकाले घुमाउरो बाटोबाट भएको नियुक्तिलाई गम्भिर छलफल गर्न आवश्यक रहेको बताए।
‘सिइओले अर्को संस्था तत्कालै जाँदा कर्मचारीदेखि ग्राहकसम्म लैजान्छ। त्यो नलगोस् भनेर कुलिङ पिरियड ल्याइएको हो’ उनले भने, ‘एउटा सिइओ अर्कोमा डेपुटी स्तरमा जान्छ भनेर कल्पना गर्न सकिँदैन। यसको स्पिरिट भनेको सुशासन पालना गराउने हो। राष्ट्र बैंक त्यसमा तलमाथि गर्दैन्’
उनले निर्देशनको फरक किसिमले ब्याख्या गरेर प्रमुख कार्यकारीलाई डेपुटी बनाएर लैजाँदा सुशासन पालना गर्ने राष्ट्र बैंकको निर्देशनको उद्देश्य पुरा नभएको बताए। ‘भोली अर्को बैंकले पनि त्यसै गर्ला’ उनले भने, ‘त्यही भएर यसका बारेमा राष्ट्र बैंकभित्र छलफल हुनेछ। छलफलपछि हामी निर्णय गर्ने छौं।’
राष्ट्र बैंककै केही अधिकारीहरुले भने नविललाई ‘चोर बुद्धि’ राष्ट्र बैंककै केही उच्च पदाधिकारीले दिएको दिएका हुन्।स्रोतका अनुसार प्रमुख कार्यकारीलाई कुलिङ पिरियड लाग्ने तर तलकोलाई लाग्दैन भन्ने आइडिया राष्ट्र बैंकबाटै दिइएको हो।‘कुलिङ पिरियड आएपछि नविललार्इ राष्ट्र बैंकभित्रकै उच्च अधिकारीले डेपुटीमा नियुक्त गरेर ल्याउन आइडिया दिएका थिए।राष्ट्र बैंकले रोक्नुपर्नेमा अझै आइडिया दिएर पठाएपछि नविलका संचालक उत्साहित भएर आएका थिए’स्रोतले भन्यो।
तर शाहको नियुक्ति बारे गभर्नर कार्यालय असन्तुष्ट रहेको स्रोतको दावी छ। ‘त्यही भएर शाहको नियुक्तिलाई राष्ट्र बैंकले बैधानिकता नदिन सक्छ’ स्रोतको दावी छ, ‘मौखिक रुपमै बैंक सञ्चालक समितिलाई नियुक्ति बदर गर्न निर्देशन दिन सक्छ।’
अर्को पक्ष भने राजनीतिक दबाबका कारण राष्ट्र बैंकको समेत इज्जत जोगिने गरि शाहलाई डेपुटी भित्र्याउन सहमति दिइएको दावी गर्छ। ‘उच्च तहको राजनीतिक दबाब थियो’ स्रोतको दावी छ, ‘गभर्नरले थेग्न सक्नु भएन, त्यही भएर चोर बाटोबाट नियुक्तको बाटो सुझाइएको हो।’
बैंकका अध्यक्ष शम्भु पौडेलले राष्ट्र बैंकको उच्च सम्मान गर्दै शाहलाई डेपुटी सिइओमा मात्रै नियुक्त गरिएको बताए। ‘राष्ट्र बैंकलाई नटेर्ने भएको भए प्रमुख कार्यकारी बनाउने निर्णय खारेज नै गर्दैन थियौं’ उनले भने, ‘राष्ट्र बैंकको इज्जत राख्नकै लागि अनिलजीलाई डेपुटीमा भित्र्याइएको हो।’
राष्ट्र बैंकले जुन उद्देश्यले कुलिङ पिरियड ल्याएको थियो, त्यसको दूरुपयोग भएन र? भन्ने प्रश्नमा पौडेलले भने- अनिल शाहलाई एकादशीको ब्रत बस्न लगाउने? उसलाई भोकै राख्ने? घटेर जागिर खान्छु भन्दा त पाउनु पर्यो नि, होइन र? यता राष्ट्र बैंकले कुलिङ पिरियडको व्यवस्थालाई थप कसिलो पार्नका लागि निर्देशन संशोधन गर्ने बारे छलफल अगाडि बढाएको छ।
बिजमाण्डूबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung