
विद्युतीकरणका क्रममा करेण्ट लागेर मृत्यु भएका युवा संघ वडा कमिटिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको सम्झनामा नेकपा एमाले जैमिनी नगरपालिका वडा नं. ५ वडा कमिटिले सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य मनकुमारी जिसीले समाजको काम गर्दा गर्दै निधन भएका क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न परिवारजनलाई आग्रह गरेकी छन ।
जीवनमा जन्मनु र मर्नु ध्रुवसत्य कुरा भएको भन्दै उनले समाज रुपान्तरणमा योगदान गर्ने युवाको निधनले समाज र एमाले पार्टीलाई अपुरणीय क्षति पुगेको बताइन।
विकास निर्माणको अभियानकै क्रममा क्षेत्रीको निधन भएकाले उहाँले देखेको सपना पुरा गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट विकास निर्माणमा योगदान गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुने सांसद जिसीको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश विभागका सदस्य तथा जैमिनी वडा नं. ४ का वडा अध्यक्ष चक्रबहादुर थापा, प्रदेश पुस्तकालय विभागका सदस्य पार्वतीकुमारी शर्मा, जैमिनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गोपालप्रसाद शर्मा, अनेरास्ववियू बागलुङका सचिव शिव शर्मा लगायतले स्वर्गीय क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन नेकपा एमाले जैमिनी नगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश केसीले गरेका थिए ।
गत चैत १६ गते विद्युतीकरणका क्रममा करेण्ट लागेर २७ वर्षीय क्षत्रीको निधन भएको थियो । दुर्घटनामा परी अन्य ५ जना युवाहरु घाइते भएका छन् । घाइतेहरुको अवस्था सुधारोन्मुख रहेको छ । सांसद जिसी लगायतको टोलीले घाइतेहरुलाई भेटेर सिघ्र स्वास्थ्यलाभको कामना गरेको अनेरास्ववियूका जिल्ला सचिव शिव शर्माले जानकारी दिए ।
यसैबीच अखिल नेपाल महिला संघ बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थाका सदस्य तेजकुमारी बोहराको निधनप्रति सोमबार नै श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।