सरकारले घिउको भन्सार मूल्याङ्कन बढाएपछि साढे २ अर्बको स्वदेशी घिउ बिक्री बढेको छ । भारतबाट सस्तो मूल्यमा आउने घिउका कारण स्वदेशी घिउ बिक्री नभएर रन्थनिएका उद्योगी र किसानले अहिले भने राहत महसुस गरेका हुन् ।

दुग्ध विकास संस्थान, निजीक्षेत्र र डेरी उद्योग सङ्घले उत्पादन गरेको साढे दुई अर्ब रुपैयाँको घिउ बिक्री हुन सकेको थिएन । यसअघि २ सय २० भारु रहेको भन्सार मूलाङ्कन बढाएर ४ सय भारु बनाएपछि स्वदेशी घिउले बजार पाउन थालेको डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले बताए । चाडपर्व भारतीय भन्सारमा गरिएको प्रतिबन्ध र चाडपर्व सुरु भएकाले पनि घिउ बिक्री हुन थालेको उनको भनाइ छ । ‘पहिलेको डीडीसी, डेरी उद्योग सङ्घको अझै साढे २ अर्बको घिउ बिक्री हुन थालेका छ,’ उनले भने, ‘घिउ बिक्री हुन थालेपछि किसानको भुक्तानी भइरहेको छ । पहिलेजस्तो भुक्तानी नपाएको भन्ने गुनासो सुनिएको छैन ।’

अहिले मूल्याङ्कन वृद्धि र आयातमा स्वीकृति लिनुपर्ने भएपछि कुन वस्तु, कुन गुणस्तरको वस्तु र कति मात्रामा आयात हुन लागेको हो, सोबारेमा विभागको स्वीकृत अनिवार्य लिनुपर्छ । अहिले भन्सार मूल्याङ्कन बढाएपछि स्वदेशी घिउको मूल्य हाराहारीमा भारतीय घिउको मूल्य पर्ने राजभण्डारीले बताए । अहिले स्वदेशी घिउको मूल्य प्रतिकेजी ७ सय रुपैयाँ बिक्री मूल्य छ ।

भारतबाट घिउ आयातमा स्वीकृत नलिई ल्याउँदा भारतबाट आएको घिउ सस्तोमा बिक्री हुन थालेपछि स्वदेशी घिउ बिक्री हुन नसकेको राजभण्डारीको तर्क छ । उनले रुपैडिया नाकाबाट मात्रै दैनिक हजार केजी घिउ आयात हुने गरेको बताए । खाद्य विभागले अनिवार्य रुपमा गत साउनदेखि आयात अनुमतिमा पूर्वस्वीकृति लिनुपर्ने बताएपछि घिउको आयातमा कमी आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए ।

‘विभागसँग अनिवार्य रुपमा भारत भित्रिने विभिन्न नाकाहरुमा दुग्धजन्य वस्तुको आयात अनुमति पूर्वस्वीकृत गर्नुपर्छ,’ उनले भने, ‘कुन वस्तु कति परिमाण ल्याउने अनुमति स्वीकृति गरेपछि त्यसको भेरिफिकेसन गर्छौं । त्यसपछि मात्रै ल्याउन पाइन्छ ।’ यसअघि बिनाअनुमति सजिलै भन्सारबाट भित्रिने दुग्धपदार्थ तथा अन्य वस्तुको गुणस्तरसमेत खस्किने गरेको उनले बताए ।

हालै दूध तथा दुग्धपदार्थको गुणस्तरसम्बन्धी निर्देशिका लागू गरिएपछि स्वदेशी दूधको गुणस्तर र मूल्यमा एकरुपता आउने कर्णको भनाइ छ ।