
सिक्टा सिंचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पाण्डेसँग ४ करोड रुपैयाँ धरौटी मागेको हो। बुधबार अदालतमा हाजिर भएका पाण्डेको ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेका हुन्।
अख्तियारको फरार सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए। बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग्ने निर्णय गरेको हो।
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ गते कालिका कन्स्ट्रक्सनका मालिकसमेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।
पाण्डे प्रमुख रहेको सिटिसिई कालिका कन्ट्रक्शन जेभीले सिक्टा सिंचाई आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो।
अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो। आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको छ।