२१ बैशाख २०८१, शुक्रबार

 

पाकिस्तानले भन्योः भारतीय आक्रमणको प्रतिकार गर्छौं

भारतीय वायुसेनाको मिराज २००० विमानले पाकिस्तान अधिनस्थ कास्मिरमा १००० किलो बम प्रहार गरेको छ। (इण्डिया टुडे)

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले भारतमा गरेको हवाइ आक्रमणको उचित जवाफ दिने बताएका छन्।

उनले स्व–रक्षाको अधिकार पाकिस्तानसँग रहेको भन्दै भारतीय हवाई आक्रमणका जवाफ दिने बताएका हुन्।

विदेशमन्त्री कुरेसीले भारतले नियन्त्रण रेखा पार गर्दै गरेको आक्रमणको जवाफ दिने अधिकार पाकिस्तानसँग भएको पिटिभीलाई बताएका छन्।

‘भारतले आज पाकिस्तानसँग दुस्साहास गरेको छ। यो ग्रेभ एग्रेसन हो। हामीले विश्वभरलाई यस विषयमा जानकारी गराउँदै आएका छौं। यस प्रकारका हरकत हुनसक्छ भनेर गराएका थियौं,’ कुरेसीले भने,‘यो नियन्त्रण रेखाका उल्लंघन हो। भारतले यसको उचित जवाफ पाउने छ।’

यसअघि भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखले पत्रकार सम्मेलन गर्दै भारतले अतिवादी लडाकु समूह जैस ए मोहम्मदको शिविरमा आक्रमण गरेको बताएका छन्।

भारतीय सञ्चार माध्यमहरुले यसअघि १० वटा लडाकु बिमानले पाकिस्तानको बालाकोटस्थित प्रशिक्षण शिविरमा आक्रमण गरेको जनाएको थियो। उक्त स्थान पाकिस्तानमा पर्दछ।

यसै महिनाको १४ तारिखमा भारत प्रशासित जम्मु तथा कस्मिरमा भारतीय अर्ध सैनिक बल चढेको गाडीलाई लक्षित गरि भएको आत्मघाती बम विष्फोटमा ४० जवानको मृत्यु भएको थियो। सो आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय रहेको समूह जैस ए मोहम्मद समूहले लिएको थियो।

भारतले पाकिस्तालाई उक्त आक्रमणको जिम्मेवार ठहराएको थियो। पाकिस्तानले भारतको उक्त भनाइको खण्डन गरेको थियो।

सम्बन्ध विग्रिरहेका बेला मंगलबार विहान भारतीय सेनाले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि विवाद अझ उत्कर्षमा पुगेको छ। भारतले पाकिस्तानलाई नभएर आतंकवादलाई आक्रमण गरेको बताएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्