
थम्मन थापा
बागलुङ । खडग कालिका भगवती मन्दिर गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटको बैठक आज सम्पन्न भएको छ । बैठकले परापूर्वकाल देखि नै चैते दशैंको अवसरमा कोट मन्दिरमा गरिदै आएको पुजाआजालाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउने निर्णय भएको छ ।
मन्दिरमा पुजा अर्चनाको लागि जिल्ला समन्वय समितिका सदस्य दलबहादुर थापा, गलकोट नगरपालिका– ७ का वडाध्यक्ष सुवेदार टिकाबहादुर थापा र वडा सदस्य लोकबहादुर थापाको नेतृत्वमा पुजा सञ्चालन गर्ने, आवश्यक व्यवस्थापन मिलाउने जिम्मेवारी प्रदान गरिएको छ । पौराणिक कालदेखि कोट मन्दिरमा चैते दशैं र बडा दशैंमा पुजा अर्चना गर्ने, बलि चढाउने परम्परा रहेको छ ।
उक्त खडग कालिका कोट तथा माइको मन्दिरमा गलकोट नगरपालिका– ७ को बतासेडाँडादेखि मल्मडाँडा हुँदै झिर्कासम्मका झण्डै २५० घरधुरीले सामूहिक पुजाअर्चना गर्दै आइरहेका छन् । पछिल्लो समय समुदायको पुजाआजा प्रति चासो घट्दै जान थालेपछि यो पटक जनप्रतिनिधीहरुले यसप्रति चासो व्यक्त गरेको वडाध्यक्ष सुवेदार टिकाबहादुर थापाले बताए ।
धार्मिक आस्थाको धरोहर खडग कालिका कोट मन्दिरमा पुजा अर्चना तथा दर्शन गरे मनोकामना पुरा गर्ने जनविश्वास रहेको थापाको भनाई छ।
चैते दशैंको अवसरमा चैत २८ गतेदेखि ३० गते सम्म पुजा अर्चाना गरिने मन्दिरका सचिव एवं पण्डित रामचन्द्र गौतमले जानकारी दिए । बैठक खडग कालिका मन्दिर व्यवस्थापन समिति गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।