१८ बैशाख २०८१, मंगलवार

 

‘मेहनत र इमानदारीले सफलता पाएँ’

आनन्द प्रकाश राजभण्डारी, व्यवसायी

जिन्दगी सोचेजस्तो सरल छैन । संकल्प र मेहनतले नै मान्छेलाई उचाइमा पुर्‍याउँछ । व्यवसाय सुरु गर्दा मलाई पनि धेरै कुरा थाहा थिएन । बुबा, काका र दाइको संगतले बिस्तारै सिक्दै गएँ ।मलाई पढ्न धेरै टाढा जान परेन । बागलुङ बजारस्थित हाम्रो घरैअगाडि विद्यामन्दिर मावि थियो । यसले हाम्रो मात्र होइन, दिदीबहिनीको पनि पढाइ सहज भयो ।

बुबा टीकाबहादुर राजभण्डारी व्यवसायसँगै समाजसेवामा पनि रुचि राख्नुहुन्थ्यो ।त्यो समय उहाँले समाजलाई धेरै योगदान गर्नुभएको थियो । बुबाको पालामा त्यहाँका नेवार समुदायमाझ राजनीति र समाजसेवामा पनि अगाडि बढ्नुपर्छ भन्ने खासै चेतना थिएन । व्यापार, खेतीपाती र स–सानो जागिर खाने चलन थियो ।

विस २०१९ सालमा आएको तत्कालिन बढाहाकिम शिवबहादुर थापाले क्याम्पस बनाउनको लागि नेतृत्व गर्नु भयो ।विस २०२२ सालमा आएका तत्कालिन अंचलाधीश मकर बहादुर बान्तवा  महेन्द्र क्याम्पसको संचालक समितिको सभापति हुनु भयो भने विस २०२५ सालमा बुबा टिकाबहादुर राजभण्डारी आर्थिक संकलन समितिको उपसभापति भएर क्याम्पस बनाउँने अभियानमा लाग्नृु भयो ।

विस २०३२ सालमा तेजेन्द्र बहादुर खड्का प्रधानपंच र बुबा टीकाबहादुर राजभण्डारी उपप्रधानपंचमा पनि निर्वाचित भएर समाजको विकासमा सक्रिय हुनु भयो । लक्ष्यबहादुर गुरुड अचंलाधीश हुँदा लक्ष्यबहादुरसंग मिलेर बुबाले तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस हालको धौलागिरि क्याम्पस बनाउँन सक्रिय भएर लाग्नु भयो ।त्यति बेला ज्ञानको ज्योति फैलाउँन र यस क्षेत्रको विद्यार्थीहरुलाई उच्च शिक्षा दिन गरिएको त्यो कोशिस ,प्रयास र संघर्षलाई हामीले कहिले पनि विर्सनु हुँदैन ।

२०३६ सालमा बुबा अचानक हामीलाई छाडेर जानुभयो । हाम्रा लागि असह्य पीडादायी घटना थियो यो । त्यसबाट बाहिर निस्कन हामीलाई धेरै समय लाग्यो । अब परिवार र व्यवसायको जिम्मेवारी दाइ सहदेव, दिदी लक्ष्मी र मेरो काँधमा आइपुग्यो ।हामीले व्यापारदेखि घर–व्यवहारसम्म ध्यान दिनुपथ्र्यो ।

हामीलाई काहिँला बुबा भीमबहादुर राजभण्डारीले असल अभिभावकत्व दिनुभयो । पसलको जिम्मेवारीदेखि समाजका हरेक कुरामा अघि बढ्न मद्दत गर्नुभयो । त्यही कारण मैले उहाँको सम्झनामा बागलुङ बजारको कुँडुलेस्थित  वैंकटेश मुक्ति नारायण मन्दिरमा  गरुढ शिला मुर्ति स्थापना गर्न लगाएको छु ।

त्यति बेला बागलुङका व्यापारीहरू गाउँघरमा लाग्ने मेलामा गएर सामान बेच्थे । सामान ल्याउन सजिलो थिएन । बुटवल, काठमाडौं पुग्न धेरै दिन लाग्थ्यो । ज्ञान, चेतनाको एक मात्र माध्यम विद्यालय र विद्यामन्दिर पुस्तकालय थियो । शिक्षकहरू पढाइसँगै ज्ञानगुनका कुरा पनि सिकाउनु हुन्थ्यो ।

अंकल गुरु, शत्रुघ्न गुरु, भरत गुरु, योगराज गुरु,गुरु ध्रुव, हरिहर गुरुले धेरै कुराको शिक्षा दिनुभयो ।सूचना–प्रविधिको खासै विकास भएको थिएन । सञ्चारका नाममा आवा थियो । त्यो पनि लेखेर पठाउनुपर्ने । रेडियो नेपाल, बलेवाको प्लेन, मिल र सिनेमा हल नै त्यति बेलाका आधुनिक प्रविधि थिए। बजारमा खानेपानीको धारा पनि थिएन । मकर बहादुर बान्तवा अंचलाधीश हुँदा बल्ल मुख्यचोकहरूमा धारा राखियो । पानीका लागि आमा, बुहारी र छोरीहरूले धेरै टाढासम्म धाउनुपथ्र्यो । गाईबस्तुदेखि घोडासम्मलाई पानी ओसार्नुपथ्र्यो ।

शौचालय, टेलिफोन, मोटरबाटो पनि थिएनन् । बागलुङ बजारमा यी कुरा धेरैपछि मात्र सम्भव भएका हुन् । छोरीहरूलाई धेरै पढाउने चलन थिएन, बढीमा कक्षा ९ या १० सम्म । बिए, एमए गर्ने केटीमान्छे भेट्नै मुस्किल पथ्र्यो । घर, खेत र पसलको काम सकेपछि मात्र पढाइ र होमवर्क गरिन्थ्यो । छोराछोरीलाई सरासर पढाउने संस्कृति विकास भएको थिएन । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायत सीमित व्यक्तिका घरमा मात्र त्यो सुविधा थियो ।

चेतनाको कमी भएको त्यस्तो कालखण्डमा पनि बुबा ,काका र दाईहरुले दिदी बैनीहरुलाई पनि उच्च शिक्षा दिनु पर्छ भन्ने सोचका साथ काठमाडौंमा पठाएर पढाउनु भयो ।त्यो आधुनिक शिक्षाले हाम्रो दाजुभाईको छोरीहरु योग्य र समक्ष भएर आफनो पेशा,व्यवसाय गर्ने पहिलो पुस्ताको छोरीहरु भए ।दिदीहरु कृष्णमाया अधिकारी ,गंगा कसजु ,विन्दु कर्मचार्य ,चिरन बाताजु,रेशम श्रेष्ठ ,लक्ष्मी राजभण्डारीले त्यो अवसर पाउँनु भयो ।उहाँहरुलाई पढाईको लागि हामी दाजु भाईहरुले नौडाडा हुदै काठमाडौंसम्म छोड्न जान्थ्यौ भने कहिले बलेवासम्म त कहिले भारतसम्म पनि साथी गएका थियौ ।

विद्यामन्दिर मावि हुँदैनथ्यो त त्यति बेला धौलागिरि अञ्चलकै ठूलो जनसंख्या शिक्षाबाट वञ्चित हुने थियो । यो राणाकालमै खुलेको विद्यालय हो । ओमप्रसाद गौचन, मेधकुमार वैध र उहाँहरूका समकालीन मिलेर खोल्नुभएको । उहाँहरूले ठूलो गुन लगाउनुभएको छ । विद्यामन्दिर माविमा नाटक पनि प्रदर्शन हुन्थ्यो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप मनोरञ्जनको एक मात्र माध्यम थियो ।

विद्यामन्दिरले हामीलाई धेरै चिज दियो । बुबा र दाइको अभिभावकत्वमा मैले व्यापारसँगै समाजसेवामा पनि अघि बढ्न प्रेरणा पाएँ । यो विद्यालयलाई भूकम्पले ठूलो असर पु¥याएको सुन्दा मलाई निकै पिर प¥यो । महायज्ञबाट रकम उठाएर विद्यालय बनाउने महाअभियानमा हाम्रो परिवार पनि जोडियो ।

दाइ सहदेव, भाइ डा. शेखर र हाम्रो परिवार मिलेर १२ लाख ५० हजारमा एउटा कक्षाकोठा बनाएका छौं ।अहिले व्यापार–व्यवसाय छोरो आकाशले सम्हालिरहेको छ । उसले महाबौद्धस्थित आकार कम्प्लेक्स कुशलतापूर्वक चलाएको छ । घरजग्गा व्यवसायलाई पनि आधुनिक ढंगले अघि बढाएको छ । जेठी छोरी अनुपमा प्रभु बीमामा काम गर्छिन् । उनले व्यवस्थापन विषय पढेकी हुन् । कान्छी छोरी आइसा अमेरिकामा सूचना–प्रविधि अध्ययन गरिरहेकी छिन् ।

मेरी श्रीमती कल्पना राजभण्डारी घरको कामसँगै समाजसेवामा पनि अग्रसर छिन् । उनी अहिले बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंको कार्यसमिति सदस्य छिन् । बागलुङ समाज कल्याण केन्द्र महिला समूहको कार्यसमिति सदस्यका रूपमा पनि क्रियाशील छिन् ।भविष्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने इच्छा छ । नेपालभाषा मंका खलः बागलुङको भाषा ,कलार र संस्कृतिको संरक्षणको लागि एक लाखको अक्षय कोष निर्माण गर दिएको छु ।हामीले नेवारहरुको सम्पत्ति भनेकै हाम्रो भाषा र संस्कृति हो ।हाम्रो समुदायले देश र समाजको विकासको लागि धेरै योगदान दिएको छ ।

यी ऐतिहासिक तथ्यहरु र भाषा र संस्कृति नयाँ पुस्तालाई हामीले हस्तान्तरण गर्नु पर्छ । राधाकृष्ण मन्दिर, विद्यामन्दिर पुस्तकालय,सत्यसाई केन्द्र , धौलागिरि वीरेन्द्र मावि, मानवसेवा आश्रम, पञ्चकोटलगायत संघसंस्थालाई आर्थिक सहयोग गरेको छु । बागलुङ नगरपालिका वडा नं ४ को  कुँडुलेको रंग वैंकटेश मुक्ति नारायण मन्दिरमा करिब एक करोड सहयोगमा महत्वपूर्ण पूर्वाधार बनिरहेका छन् ।

यो पूर्वाधार तयार भयो भने यहाँको धार्मिक पर्यटनलाई ठुलो सहयोग पुग्छ ।बागलुङको आर्थिक विकासमा पर्यटनको महत्वपूर्ण योगदान छ र यसलाई सबै मिलेर योजनावद्ध रुपमा अगाडि बढाउँनु पर्छ । म कुँडुलेको धार्मिक विकासमा कसरी जोडिन पुगे भने आमा वितेर हामी किरिया बसेको बेला ऋषि स्वामी आउँनु भएको थियो हामीलाई भेट्न । त्यति बेला उहाँले मेरो हातमा गीताको पुस्तक राख दिनु भएको थियो ।उहाँको नमर तरीकाले बोल्ने शैली र उहाँको शान्त अनुहारले मलाई आकर्षित गर्यो ।शुरुमा स्वामीले मलाई मन्दिरमा गरुढको मुर्ति राख्नको लागि प्रस्ताव गर्नु भयो ।

अठार लाख पर्ने गरुढ शिला मुर्ति काइला बुबा भिमबहादुर राजभण्डारी र आमा कुलदेवी राजभण्डारीको स्मृतिमा राख्ने हाम्रो बिचमा सहमति भयो ।त्यसपछि मण्डप बनाउँने प्रस्ताव ल्याउँनु भयो स्वामी जीले ।मण्डप र अरु गरेर ७० ,८० लाखको बजेट निस्केकोमा ६५ लाखमा सो कार्य सम्पन्न भयो । ।विस्तारै मन्दिरमा ३२ लाखमा तामाको छाना छाउँने काम पनि अगाडि बढाइयो ।त्यसपछि चार लाखमा सिंहको मुर्ति राख्ने काम अगाडि बढ्यो र आँगनमा ६ लाखमा ढुंगा विछ्याउँने काम भयो ।

यसरी करीब करीब एक करोडको लागतमा कुडुलेमा ठुलो धार्मिक पुर्वाधारको काम हुँदा म धेरै खुशि छु ।मेरो पेशा व्यवसायको सफलताको संगसंगै सामाजिक कामलाई अझ व्यवस्थित गरेर अगाडि बढाउँने योजना छ ।

मन्दिरको पश्चिमतिर बुबा टिकाबहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको शालिक पनि राखिदै छ ।कुँडुलेमा ऋषि स्वामीले नेतृत्व गर्नु भएको श्री मुक्तिनाथ वेद विद्याश्रम विद्यालयको लागि दश लाखको अक्षय कोष बनाइ दिएको छु । बागलुङको शैक्षिक, सामाजिक, धार्मिक र अन्य मानवीय हितका कार्यमा नियमित सहयोग गरेका छौं र भविष्यमा पनि गरिरहनेछौं ।

प्रतिक्रिया दिनुहोस्