
नेपालगञ्ज । विप्लव माओवादीका नेता भनिएका दानबहादुर फडेरालाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला अदालत बाँकेबाट विष्फोटक पदार्थ मुद्दामा साधारण तारेखमा रिहा भएका फडेरा प्रहरीले पुनः पक्राउ गर्ने निश्चित भएपछि राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको संरक्षणमा पुगेका थिए।
दुई दिनसम्म आयोगको कार्यालयमा बसेका फडेरालाई आयोगले ‘सकुशल घरपरिवारको जिम्मा लगाउने’ गरी प्रमुख जिल्ला अधिकारी मदन भुजेलको जिम्मा लगाएको थियो।
अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालय पुगेर फडेरालाई प्रजिअ भुजेलको जिम्मा लगाएका थिए। त्यसलगत्तै प्रहरीले फडेरालाई जिल्ला प्रशासन कार्यालय परिसरबाटै पुनः पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले फडेरालाई पक्राउ गरेर लगेको छ। जिल्ला प्रशासन कार्यालय परिसरबाट आयोग तथा अन्य अधिकारकर्मीहरुको उपस्थितिमै प्रहरीले फडेरालाई पुनः पक्राउ गरेको हो।