३० बैशाख २०८२, मंगलवार

 

खाडीमा एक विदेशी ट्याङ्कर इरानद्वारा कब्जा

इरानको सेना रिभोल्युसनरी गार्ड्सले खाडीमा दश लाख लिटर तेल तस्करी गरेको आरोपमा एक विदेशी तेल ट्याङ्कर कब्जामा लिएको जनाएको छ।

स्ट्रेट अफ होर्मुजमा रहेको लाराक टापुको दक्षिणमा गत आईतवार उक्त ट्याङ्कर कब्जामा लिइएको छ।तर उक्त ट्याङ्कर कुन देशको भन्ने उल्लेख गरिएको छैन।

तनाव

इरानी अधिकारीहरूले सो ट्याङ्कर फेला परेको भनिएको स्थान नजिकै समस्यामा परेको एउटा ट्याङ्करलाई मद्दत गरेको भनेको दुई दिनपश्चात् पछिल्ला विवरण आएका छन्।

तर मद्दत गरिएको भनिएको ट्याङ्कर र कब्जा गरिएको ट्याङ्कर एउटै हो वा होइन भन्ने थाहा भएको छैन।सो क्षेत्रमा तनाव भने बढिरहेको छ।गत साता ब्रिटेनले इरानी पानीजहाजहरूले आफ्नो एक ट्याङ्करलाई खाडीमा अवरोध गर्ने प्रयास गरेको जनाएको थियो।

वास्तवमा अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट हात झिकेर तेहरानमाथि कडा प्रतिबन्ध लगाए यता खाडी क्षेत्रमा तनाव बढिरहेको छ।मे र जुन महिनामा इरानले दुई पटक ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको अमेरिकाले आरोप लगाएको थियो। तर तेहरानले त्यसलाई अस्वीकार गरेको थियो।

इरानले हालै एक विवादास्पद परिस्थितिमा स्ट्रेट अफ होर्मुजमा अमेरिकी मानवरहित ड्रोन विमान खसालिदिएको थियो।साथै ब्रिटेनका लडाकू पानीजहाजहरूले ब्रिटिश तेल ट्याङ्करहरूको सुरक्षाका लागि तिनका सँगसँगै गस्ती गर्न थालेका छन्।एउटा इरानी ट्याङ्करलाई जिब्राल्टरको तट पारि कब्जा गरिएको बदला लिने तेहरानले चेतावनी दिएपछि ब्रिटेनले त्यसरी सुरक्षा बढाएको हो।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung