सरकारी संयन्त्रमार्फत रोजगारीका लागि जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण आगामी कात्तिकमा हुने भएको छ । श्रम मन्त्रालयका अनुसार कात्तिक १० र ११ मा र १९ र २० गते परीक्षा हुँदै छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।
भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउनेछ । जापानले नर्सिङ कियर गिभरका लागि कामदार लैजान लागेको हो । आवेदकले जापानको सामान्य भाषा र पेसागत भाषा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउनेछन् ।
त्यसका लागि कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्न नपर्ने मन्त्रालयका अधिकारीले बताएका छन् ।
वैदेशिक रोजगारीका लागि अन्य देशमा विभिन्न म्यानपावर कम्पनीबाट पठाउने गरिए पनि जापानमा सरकारी संयन्त्रबाट मात्रै कामदार पठाइनेछ । भाषा परीक्षण गर्न जापानले अन्तर्राष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक’लाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछन् ।













































































































































































































