४ जेष्ठ २०८१, शुक्रबार

 

जनहितले तोक्यो एसइई सर्टिफिकेटको शुल्क

गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माविमा बुधबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

बैठकले २०७५ को एसइईमा विद्यालयको नतिजाको विश्लेषण, आर्थिक वर्ष २०७५/७६ को आन्तरिक सामाजिक परीक्षण अनुमोदन गरेको छ । बैठकले एसइई उत्तीर्ण विद्यार्थीका लागि सर्टिफिकेटबापतको शुल्क २ हजार ५ सय कायम गरेको छ ।

केही दिनपहिले जनहित माविले एसइई सर्टिफिकेटबापत प्रतिविद्यार्थी १० हजार रुपैयाँ लिएको भनी सामाजिक सञ्जालमा प्रकाशत विषयप्रति बैठकले आपत्ति जनाएको छ ।

विद्यालयले विद्यार्थीबाट कुनै पनि सर्टिफिकेटबापत थप शुल्क नलिएको प्रधानाध्यापक विष्णुप्रसाद गौतमले बताए । बैठकमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी, सरोकारवाला, पत्रकारलगायतको उपस्थिति थियो ।

बैठक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्