३ जेष्ठ २०८१, बिहीबार

 

छोराको उपचारका लागि भाैँतारिँदै गायक शर्मा

छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरि पसिनाको गन्ध
होला मेरो खुट्टा बरु पटपटी फुटेको तर मेरो जिन्दगी यसैमा उठेको
चाहिँदैन मलाई सिसाको महल, चाहिँदैन मलाई सम्पत्तिको रास ।

जीवन शर्माले सधैं सर्वहारा जनताको मुक्तिका गीत गाए । आफ्नो स्वरलहरीमार्फत उनीहरूका पक्षमा वकालत गरिरहे । यति बेला उनै शर्मा सर्वहारा हुनुको तीतो यथार्थ भोगिरहेका छन् । उनको परिवारमा वज्रपात भएझैं छ । उनी यसबाट उम्कने उपायको खोजीमा भौंतारिइरहेका छन् ।

दसैंका बेला उनको घरमा पनि रौनक थियो । परिवार हाँसीखुसी पर्व मनाइरहेका थिए । त्यही बेला खाना खाने क्रममा मासुको हड्डीले अन्ननली छेडेपछि जीवन–मरणको दोसाँधमा छन् उनका माइला छोरा अमृत । महाराजगन्जस्थित मनमोहन कार्डियो अस्पतालको शय्यामा हलचल गर्न नसक्ने अवस्थामा छन् ।

गायक शर्मा चिन्तामा छन्– छोराको उपचारमा कहाँबाट रकम जुटाउने ? उनी मृत्युसँग संघर्ष गरिरहेका छोराको अनुहार हेर्छन् अनि अस्पतालको ढोकामा आएर एक्लै रुन्छन् । छोरालाई बचाउनुपर्ने एउटा बाबुको दायित्व, कर्तव्य सम्झँदै गम्भीर बन्छन् । डाक्टरको कुराले कहिले तर्सिन्छन् अनि उपचार खर्च नजुट्ला भनेर झस्किन्छन् । पछिल्लो दिन उनको दिनचर्या नै यही हो ।
‘अमृतलाई बचाउन निकै गाह्रो भएको डाक्टरले सुनाउँदा म होसमा थिइनँ । तर डाक्टरको अथक प्रयासले जीवनमा थोरै भए पनि आशा पालएको छ । आशा पलाएपनि बीचमै निभ्ने हो कि भन्ने चिन्ता छ,’ शर्माले भने ।
मनमोहन कार्डियोका डा. रञ्जन सापकोटा नेतृत्वको टोलीले अमृतको नौ घण्टा लगाएर अप्रेसन गरेपछि तत्कालको खतरा टरेको छ ।

यसपछिको अप्रेसनका लागि ठूलो रकम चाहिने भएपछि शर्मा थप चिन्तामा छन् । देशका ठूला नेताहरूसँग पनि उनको चिनजान छ । तर अहिलेसम्म कहीँकतैबाट सहयोग नजुटेको उनले सुनाए ।
त्यसो त अमृतको उपचारका लागि नेकपाका केही नेताले पनि सहयोगका आग्रह गरिदिएका छन् । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल अस्पतालमै पुगेर सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए । नेकपा सांसद शान्ता चौधरीले पनि अस्पतालमै पुगेर सहयोगको अपिल गरेकी छन् ।

जनगायक शर्मालाई सहयोगको हात बढाउन चाहनेहरूले उनका दाइको नाममा रहेको निम्न बैंक खातामा सहयोग पठाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक लिमिटेड
कान्तिपथ शाखा
अर्जुन आचार्य
खाता नम्बर ०१०७०१००४६७८७

प्रतिक्रिया दिनुहोस्