३ जेष्ठ २०८१, बिहीबार

 

‘वैदिक गाईको संरक्षणमा जुटेका छौं’

समाजिक विकासको उद्देश्य राखेर पर्वतको जलजला गाउँपालिकामा मंसिर १९ देखि २६ गतेसम्म ‘श्रीगण्डकी गोरक्षा धान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव’ हुने भएको छ । अन्नतश्री विभूषित स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को उपस्थितिमा हुन लागेको यज्ञले पौराणिक महत्त्वको क्षेत्र धवलागिरि अञ्चलकै विकास र उत्थान गर्ने  लक्ष्य राखेको छ ।

महायज्ञ आयोजनास्थल देवभूमि भएको दाबी गर्दै आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले आधुनिक र पुरातन संस्कृतिलाई संयोजन गरी समाजको शुद्धीकरण तथा विकासका लागि यज्ञको आयोजना गर्न लागिएको जानकारी गराए ।

महायज्ञमा कथावाचन मुक्तिनाथ बाबाका शिष्य सुदर्शन बरालले गर्नेछन् । महायज्ञ पर्यटन वर्षको आरम्भसँगै हुने भएकाले पर्यटन प्रवर्धनका लागि समेत महत्त्वपूर्ण रहेको आयोजकको दाबी छ । धर्मप्रति आस्थावान् समुदायलाई धेरैभन्दा धेरै उपस्थित गराउन काठमाडौं, पोखरा, चितवन, बुटवललगायत सहरमा सम्पर्क विस्तार गरेर महायज्ञको तयारी गरिएको छ ।

महायज्ञको तयारीका लागि आयोजक समितिका महासचिव जगन्नाथ आचार्य, अर्थसमिति संयोजक दण्डपाणि रिजाल, सल्लाहकार रुद्रलाल आचार्य, टेकनारायण आचार्यलगायतको समूह राजधानी आएर प्रचारप्रसारमा जुटेको छ । नयाँ विश्व डटकमका सञ्चालक आनन्दप्रकाश राजभण्डारीले  ७ लाख २७ हजार ५ सय प्रदान गरेर उक्त महायज्ञको पहिलो सभानायक बन्ने भएका छन ।

महायज्ञबाट प्राप्त स्रोतले त्यहाँ सञ्चालित गौशालालाई व्यवस्थित गर्दै स्थानीय जातका गाईको संरक्षणसाथै गुरुकुल पनि सञ्चालन गर्ने बृहत् योजना बनाइएको छ ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई एकीकृत गर्दै संयुक्त विकासको दीर्घकालिन योजना बनाएर कोष संकलनका लागि महायज्ञको आयोजनामा जुटेको महासचिव आचार्यले बताए ।

करिब ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकाे उनले जानकारी दिए । महायज्ञ मुक्तिनाथ बाबाको प्रत्यक्ष सहभागिता र सल्लाहमा आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

धवलागिरि अञ्चलमा पर्ने पौराणिक महत्त्वका स्थानको संरक्षण, संवर्धनका साथै प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयेजना गरिएको छ । महायज्ञमा यथाशक्य दान गर्ने दाताहरूको तथ्यांक राखी उनीहरूको निरन्तर सम्पर्कमा रही विकासमा सहभागी गराइनेछ ।

साथै ठूलो धनराशि दान गर्ने ‘दानवीर’लाई त्यही समयमा हेलिकप्टरबाट पौराणिक कालाञ्जर पर्वतको परिक्रमा गराउने योजना आयोजक समितिले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्