
विमल खड्का,
नेपाल कम्युनिस्ट पार्टीको बडिगाड गाउँपालिका-७ नम्बर वडा कमिटीले राहत वितरण गरेको छ । लकडाउनले प्रभावित ६० विपन्न परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको हो ।
राहत वितरण गर्दै नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका सदस्य सुनील शेरचनले महामारीको अवस्थामा पार्टीले जनताको चुलो निभ्न नदिनु र सारथिको काम गर्नु महत्त्वपूर्ण भएको बताए ।
उनले अप्ठेरोमा परेकालाई राहत बाँड्ने कुराको अन्यले पनि सिको गर्नुपर्ने जनाए ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बडिगाड गाउँपालिकाका अध्यक्ष गुणनिधि घिमिरे, एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष जितबहादुर थापा, नेता दीपक रायमाझी, कमल हिजाललगायतको उपस्थिति थियो ।
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, नेकपा बडिगाड-७ वडा कमिटी र दलित सञ्जाल बडिगाडका अध्यक्ष टिपुरे सुनारले गरी ६० परिवारलाई राहत वितरण गरिएको वडा कमिटी सचिव हिजालले जानकारी दिए । राहत नपाएकाहरूको नाम संकलन गरी दोस्रो चरणमा वितरण गरिने नेकपाले जनाएको छ ।