काठमाडौंको कान्तिपथस्थित याल्लो प्यागोडा होटलले कोरोना सुरक्षा मापदण्ड अपनाएर पर्यटकहरूलाई सेवा दिएको छ । कोरोना महामारीका कारण सबैजसो पर्यटन व्यवसाय ठप्प भएको बेला प्यागोडाले उच्च स्वास्थ्य सुरक्षासहित सेवा दिन थालेको हो ।
होटलले हरेक कोठा, बेड, डाइनिङ, काउन्टरलगायत स्थान वैज्ञानिक मापदण्डअनुसार कीटाणुरहित बनाएको जानकारी दिएको छ । होटलका प्रबन्ध निर्देशक अनिल राजभण्डारीका अनुसार कर्मचारीका साथै ग्राहकको स्वास्थ्यलाई उत्तिकै मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएर स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कर्मचारीका लागि पीपीई र सेवाग्राहीको लागि स्वास्थ्य सामग्री उपलब्ध गराइने उनको भनाइ छ ।
‘कोरोना महामारीका बखत प्रत्येक व्यक्तिको सरसफाइ र सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ। होटल यस विषयमा थप सजग र गम्भीर छ,’ उनले थपे । ग्राहकको माग र विश्वासअनुसार गुणस्तर र सरसफाइका लागि होटलले सुरक्षा प्रोटोकलमा रहेर सेवा दिइरहेको होटलका प्रबन्ध निर्देशक राजभण्डारीले जानकारी दिए ।
होटेलले हाल मोबाइल चेक–इन र चेक–आउट, इनरुम, डाइनिङ सेवासुविधा दिनुका साथै डिजिटल मेनु, डिजिटल भुक्तान विधिहरूसहित सुरक्षित भोजन गर्ने सेवा उपलब्ध गराउँदै आएको छ । ‘होटेलमा जाँदा अतिथि र सहयोगीहरूले हाम्रो स्वास्थ्य र सुरक्षा उपायहरूबारे आगामी महिनाहरूमा उल्लेखनीय र महत्त्वपूर्ण थप सूचना देख्न सक्छन्,’ उनले भने, ‘हाम्रा पाहुना र सहयोगीहरूको सुरक्षा सधैं हाम्रो प्राथमिकतामा छ ।’
















































































































































































