
बागलुङ नगरपालिकाका खानेपानी उपभोक्ताको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटी धारामा आउने गरेको फोहोर पानीको वैकल्पिक व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।
अधिवक्ता राम शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शुद्ध खानेपानीका लागि तत्काल आवश्यक पहल गर्न अनुरोध गरेको शर्माले बताए ।
उपभोक्तालाई सफा पानीको व्यवस्था गर्न आफूले प्रमुख जिल्ला अधिकारीलाई माग गरेको बागलुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोकगोविन्द राजभण्डारीले नयाँ विश्वलाई बताए ।
बागलुङ बजारमा आपूर्ति गरिने पानीको मुहान अनुगमन गरी स्वच्छ पानी वितरण गर्ने प्रबन्ध मिलाउने आश्वासन प्रमुख जिल्ला अधिकारी न्यौपानेबाट प्राप्त भएको अधिवक्ता शर्माको भनाइ छ । प्रतिनिधि मण्डलमा ध्रुवप्रसाद शर्मा, डिल्ली गौतम, सिर्जना पन्त, विदुर शर्मा, कृष्ण शर्मासमेतको सहभागिता थियो ।
तस्वीर : इबागलुङबाट