
सामान्य समयमा दसैं आउनु दुई महिनाअघि सामान अर्डर गर्न चीन पुग्थे नेपाली व्यापारी । अर्डर गरेको सामान एक महिनाअघि काठमाडौं आइपुग्थ्यो ।
त्यसपछि महाबौद्धको होलसेल बजारमा देशका विभिन्न जिल्लाका व्यवसायीको भीडभाड हुन्थ्यो । तर अहिले कोरोनाले सबै ठप्प छ । दसैंका लागि चीनबाट नयाँ कपडा, जुत्ता–चप्पल आउने सम्भावना अत्यन्तै कम छ ।
‘यसपटक दसैंका लागि नयाँ कपडा र जुत्ताचप्पल एकदमै कम आउँछन् । विगतको तुलनामा २५ प्रतिशत आए पनि ठूलो कुरा हो,’ पिपुल्स प्लाजाका सञ्चालक एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने, ‘अहिले आउने केही सामान पानीजहाज हुँदै भारतबाट आउने हो । हामीसँग नाका जोडिएका तातोपानी र केरुङ बन्द नै छन् ।
त्यसैले यसपटकको दसैं खल्लो बन्नेछ ।’ उनका अनुसार कतिपय व्यवसायीले चीनमा रहेका एजेन्टलाई विच्याटमार्फत सामान अर्डर गरेका छन् । ती सामान पानीजहाजमार्फत भारत हुँदै नेपाल आउनेछन् । भारत हुँदै आउने सामान ३५ दिन लाग्ने भएकाले समेत दसैंका लागि अर्डर गर्ने सम्भावना कम रहेको उनी बताउँछन् ।
बल्ल सरकारले बार तोकेर सपिङ मल, कपडा पसल र जुत्ता पसल खोल्न दिएको छ । तर अझै पनि अन्तर जिल्ला यातायात खुलेको छैन । अन्तर जिल्ला नखुलेसम्म व्यापार हुँदैन,’ श्रेष्ठले भने, ‘यही अनिश्चितता देखेर धेरै सामान अर्डर गर्न सकिएको छैन ।’ तातोपानी र केरुङबाट भने १५ दिनमा सामान आइपुग्छ ।
तर कोरोना र बाढी–पहिरोका कारण यो नाका बन्दको बन्दै छ । जाडो समयमा हिउँ परेका कारण सामान आउन सकेन । केही समयपछि चीनमा कोरोना देखियो ।
कोरोना देखिएपछि नाका नै बन्द भयो । तातोपानी र केरुङबाट निरन्तर रूपमा सामान नआएको झन्डै दश महिना पुगिसकेको छ । त्यही कारण मौज्दात रहेका सामान पनि करिब–करिब सकिएका छन् । ‘अहिले व्यवसायीसँग रहेका सामान पनि पुराना मात्रै छन् । छनोटमा परेका र फेसन गइसकेका सामान मात्रै छन् ।
नयाँ आउने सम्भावना पनि कम छ,’ नेपाल चेम्बर अफ कमर्सका सदस्य एवं आरबी कम्प्लेक्स व्यापार संघका अध्यक्ष परशुराम दहालले भने । अर्का व्यवसायी केदार न्यौपानेले आफूले अर्डर गरेको सामान १० महिनादेखि केरुङ नाकामा अलपत्र परेको बताए । ‘मैले अर्डर गरेको तीन कन्टेनर सामान केरुङमा रोकिएको १० महिना भयो ।
त्यही सामान आएको छैन । नयाँ अर्डर कसरी गर्ने ?,’ उनले भने, ‘अहिले केरुङमा हजारभन्दा बढी कन्टेनर अलपत्र छन् । त्यही सामान आए ठूलो कुरा भयो ।’ महाबौद्धमा जुत्ताचप्पलको होलसेल गर्दै आएका अर्का व्यापारी रमेशकुमार श्रेष्ठले दसैंका लागि पाँच लाख रुपैयाँको मात्रै सामान अर्डर गरेको बताए ।
‘केरुङमा १७ लाखको सामान अलपत्र परेको १० महिना भयो । त्यो सामानको निश्चितता नभएपछि पाँच लाखको नयाँ सामान अर्डर गरेको छु । त्यो भारत हुँदै आउने विश्वास लिएको छु’, उनले भने ।