जस्टिन हार्पर
कोभिड १९ को महामारीका बेला सुनमा लगानीको चासो बढेको छ गत महिना सुनको भाउले सबै पुराना कीर्तिमान भङ्ग गर्यो। अन्तर्राष्ट्रिय बजारमा यसको भाउ प्रतिआउन्स (करिब २८.३५ ग्राम) २,००० डलरभन्दा माथि पुग्यो।
हुन त यो भाउ सुन व्यापारीहरूका कारण पुगेको थियो तर प्रश्न के उठेको छ भनेः संसारका खानीमा कति सुन बाँकी छ र यो कहिले सकिन्छ?
सुनको माग एउटा लगानीको रूपमा, हैसियतको प्रतीकको रूपमा तथा कैयौँ विद्युतीय उपकरणका मुख्य पार्टपुर्जाको रूपमा बढिरहेको छ।तर यो असीमित वस्तु होइन, एउटा बेला आउनेछ जब सबै सुनखानी रित्तिनेछन्।
धेरै उत्खनन
विज्ञहरूले उच्च उत्खनन बिन्दुको कुरा गर्छन् जब कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ। कतिपयको विश्वास छ संसार त्यो बिन्दुमा पुगिसकेको छ।
सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको जुन सन् २०१८ मा १ प्रतिशतले कम रहेको विश्व सुन परिषद्ले जनाएको छ। त्यो वर्ष सन् २००८ यता पहिलोपटक उत्पादनमा अघिल्लो वर्षभन्दा कमी आएको थियो।
आगामी वर्षहरूमा खानीबाट सुन उत्खननमा केही कमी आएपनि उच्चतम बिन्दुमै पुगिसकेको भन्न अलि चाँडो हुने परिषद्का प्रवक्ता ह्याना ब्र्यान्डस्टेटरले बताए।
उच्चतम बिन्दुमा पुगेपनि त्यसको केही वर्षसम्म सुनको वार्षिक उत्पादनमा नाटकीय गिरावट नआउने विज्ञहरू ठान्छन्।”सुनखानीका उत्पादन स्थिर तहमा पुगेको छ। अब सम्भवतः घट्दै जानेछ। तर नाटकीय गिरावट हुनेछैन,” मेटल्सडेली डटकमका रस नर्म्यान भन्छन्।
अब कति बाँकी छ?
खानी कम्पनीहरूले जमिनमा कति सुन बाँकी छ भनेर दुई किसिमबाट अनुमान गर्छन्।

तस्बिरको क्याप्शन,सुन उत्खनन कार्य अझ कठिन र महँगो हुँदै गइरहेको छरिजर्भ्स – अहिलेको सुनको भाउ अनुसार फाइदाजनक रूपमा निकाल्न सकिने सुनको परिमाण।रिजोर्सेस – थप अनुसन्धानपछि उत्खनन गर्दा सम्भावित रूपमा फाइदाजनक हुनसक्ने सुनको परिमाण।
रिजोर्सेसभन्दा सुनको रिजर्भ्सको हिसाब निकाल्न सजिलो छ। अमेरिकी भौगर्भिक सर्भेले गरेको हालको अनुमान अनुसार सुनको रिजर्भ्सको परिमाण ५०,००० टन रहेको छ।
अहिलेसम्म संसारले १,९०,००० हजार टन सुनको उत्खनन गरिसकेको छ। अर्थात् लगभग २० प्रतिशत सुन बाँकी छ। तर यो परिमाण परिवर्तनशील हुने गर्छ।
नयाँ प्रविधिहरूले थप परिमाणको सुनलाई आर्थिक रूपमा फाइदा हुनेगरी उत्खनन गर्न सकिने बनाउन पनि सक्छन्।रोबटिक्स तथा आर्टफिशल इन्टेलिजेन्सको प्रयोगले उत्खनन प्रक्रिया परिष्कृत गरेर त्यसको लागत घटाइदिन सक्छ।

सबभन्दा ठूला सुनखानी
इतिहासमै सुनको सबभन्दा विशाल खानी दक्षिण अफ्रिकाको विटवाटरस्रान्ड बेसिन रहेको छ। विश्वको एकतिहाइ परिमाणको सुन त्यहाँबाट मात्र उत्खनन गरेर निकालिएको छ।
अन्य ठूला खानीमा दक्षिण अफ्रिकाकै मपोनेङ खानी, अस्ट्रेलियाका सुपर पीट तथा बोडिङ्टन खानी, इन्डोनेशियाको ग्रास्बर्ग खानी तथा नेभाडा, अमेरिकाका खानी हुन्।
अहिले विश्वमा सबभन्दा धेरै सुन उत्खनन गर्ने मुलुक चीन हो भने क्यानडा, रुस तथा पेरू पनि ठूला उत्पादक हुन्।कम्पनीहरूमध्ये सबभन्दा ठूलो सुनखानी कम्प्लेक्स नेभाडा गोल्ड माइन्सको छ जसको बहुमत स्वामित्व ब्यारिक गोल्डसँग छ।नयाँ खानीहरू अब कमै फेला पर्न थालेका छन्। त्यसैले धेरै उत्पादन पुरानै खानीहरूबाट भइरहेका छन्।
चन्द्रमामा पनि सुन
चन्द्रमामा पनि सुन रहेको छ। तर त्यसलाई त्यहाँ उत्खनन गरेर पृथ्वीसम्म ल्याइपुर्याउँदा लाग्ने उच्च लागतका कारण त्यो आर्थिक रूपमा व्यवहारसङ्गत छैन।
साथै एन्टार्टीका महादेशमा पनि केही सुनखानी रहेको बताइन्छ। त्यहाँबाट पनि उत्खनन गर्न अत्यन्त महँगो पर्छ।समुद्रको पीँधमा समेत सुन छरिएर रहेको हुन्छ। त्यो निकाल्नुपनि अति महँगो पर्छ।
सुनको एउटा राम्रो कुरा के हो भने खनिज तेलजस्ता अन्य स्रोतजस्तो यसको उपभोग गर्ने वित्तिकै नष्ट हुँदैन। यसको पुनरुपयोग गर्न मिल्छ।त्यसैले विश्वमा सुन कहिल्यैपनि सकिनेछैन। खानी रित्तिएपनि सुन रहिरहनेछ।
विद्युतीय सामग्रीमा सुनको प्रयोग गरिन्छ। मोबाइल फोनमा पनि औसतमा केही पाउन्ड बराबरका सुन हुन्छन्।फ्याँकिएका मोबाइल फोनहरूबाट सुन झिकेर पुनः प्रयोग गर्ने प्रयास सुरु भइसकेको छ।
बीबीसीनेपालीबाट













































































































































































































