नेपाली कांग्रेसको केन्द्रीय वित्त तथा सहकारी विभागका सदस्य कृष्णशंकर श्रेष्ठले धौलागिरि फोहोर व्यवस्थापन सहकारी संस्थासँगको सम्झौता भंग गर्ने बागलुङ नगरपालिकाको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
उनले मंगलबार विज्ञप्ति जारी गरी सहकारी र नगरपालिकाबीचको सम्झौता अवधि बाँकी रहँदै एकतर्फी रूपमा सम्झौता रद्द गरिएको प्रति ध्यानाकर्षण गराएका छन् ।
सरकारले सरकारी, निजी र सहकारी भनी तीनखम्बे अर्थनीति अगाडि सारेको अवस्थामा नगरपालिकाले लकडाउनका बेला विज्ञप्ति जारी गरी एकतर्फी रूपमा सम्झौता भंग गर्दा सहकारीलाई अन्याय भएको श्रेष्ठले उल्लेख गरेका छन् ।
उनले विविध समस्याका बावजुद फोहोर संकलन गरिरहेको सहकारीलाई पुनः उक्त जिम्मेवारी दिन नगरपालिकालाई आग्रह गरेका छन् । यो समस्या समाधानका लागि पहल गर्नसमेत उनले जिल्लामा क्रियाशील सम्बन्धित संघसंस्थालाई आग्रह गरेका छन् ।
नगरपालिकाले २०७२ सालमा धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थामार्फत फोहोर संकलन तथा व्यवस्थापन गर्ने सम्झौता गरेको थियो ।
तर, संस्थाले सम्झौताअनुसार नियमित फोहोर संकलन नगरेको भन्दै नगर कार्यपालिकाको साउन ३२ गते बसेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
फोहोर व्यवस्थापन सम्झौताको म्याद बाँकी रहेकै बेला नगरपालिकाले एकतर्फी रूपमा सम्झौता भंग गरेको आरोप लगाउँदै सहकारी क्षतिपूर्तिको माग राखी अदालत पुगेको छ । सहकारीले असोज ९ गते जिल्ला अदालत बागलुङमा निवेदन दर्ता गराएको छ ।



















































































































































































































