
करिब डेढ महिनादेखि घरजग्गा रोक्का र फुकुवाको काम गर्दै बसेका मालपोत कार्यालयलाई असोज लागेपछि भ्याइनभ्याइ हुन थालेको छ । असोज दोस्रो सातादेखि घरजग्गा किनबेच बढेपछि मालपोतमा व्यस्तता बढेको हो ।
असोज ११ देखि १६ सम्म १६ हजार २ सय ३२ घरजग्गा किनबेच हुँदा १५ हजार ३ सय १७ घरजग्गा रोक्का भएका छन् । त्यस्तै ९ हजार ३ सय ३० घरजग्गा फुकुवा हुँदा अन्य कारोबार संख्या ४ हजार ६ सय ३० रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । असोज पहिलो साता करिब १३ हजार घरजग्गा किनबेच, १४ हजार घरजग्गा रोक्का र ८ हजार घरजग्गा फुकुवा भएका थिए । दोस्रो साता भने पहिलो साताको तुलनामा किनबेच, रोक्का र फुकुवा सबै बढेका छन् ।
दोस्रो साता करिब ४६ हजार जग्गा प्रशासनसम्बन्धी सेवाबाट एक अर्बभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ । गत साता दुई कारोबार दिन बढी हुँदा ४८ हजार सेवा बेच्दै १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांक छ । अनलाइन लागू भएका १ सय ८ वटा कार्यालयको तथ्यांकमा असोज दोस्रो साता पनि १ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भइसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । गत साता भने आठ कारोबार दिनमा १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।