
कोराना संक्रमण देखिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका चिकित्सक डा। सिन कोन्लीले उनलाई अक्सिजन दिइएको स्वीकार गरेका छन् । अघिल्लो दिनसम्म उनले यो कुरा पुष्टि गर्न मानेका थिएनन् ।
संक्रमण पुष्टि भएपछि ट्रम्प उपचारका लागि वासिङ्टनस्थित द वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका छन् । यसअघि अमेरिकी सञ्चारमाध्यमले ट्रम्पलाई आफूलाई कोरोना संक्रमण भएको पहिल्यै थाहा भइसकेको जनाएका थिए । तर बिहीबार फोक्स न्युज च्यानलमा देखा पर्दा पनि ट्रम्पले त्यसबारे केही खुलाएनन् ।
संक्रमणको जोखिमलाई लिएर कतिपयले त्यसको पनि आलोचना गरे । पदासीन राष्ट्रपतिको स्वास्थ्य स्थितिबारे विरोधाभासपूर्ण जानकारी दिने ट्रम्प प्रशासन पहिलो भने होइन ।
सन् १८१३ मा राष्ट्रपति जेम्स म्याडिसनको प्रशासनले कंग्रेसका सदस्यहरूलाई भेट्न उनी असमर्थ रहेको जानकारी गरायो । तर आन्द्रासम्बन्धी समस्या र ज्वरो आएर एक महिनादेखि उनलाई बिसन्चो भएको विषयमा प्रशासनले केही पनि बताएन । उनी यतिसम्म बिरामी भए कि आफूकहाँ ल्याइने गरिएका कंग्रेसका दस्तावेजहरू पनि पढ्न नसक्ने भए । सन् १८९३ मा राष्ट्रपति ग्रोभर क्लेभल्यान्डले मुखको क्यान्सरको उपचार गराए । तर उनले आफू बिरामी भएको र शल्यक्रिया गराउनुपरेको कुरा बाहिर नजाओस् भन्ने चाहे । अस्पतालबाट सूचना चुहिन सक्ने आशंकामा राष्ट्रपति क्लेभल्यान्डले आफ्ना साथीको एउटा पानीजहाजमै चिकित्सकहरूबाट शल्यक्रिया गराए । सबैभन्दा चर्चित घटना सम्भवतः राष्ट्रपति फ्रांकलिन डी। रुजवेल्टको हुनुपर्छ ।
सन् १९३३ देखि १९४५ सम्म राष्ट्रपति रहेका रुजवेल्ट ‘लेग ब्रेसेज’बिना हिँड्न सक्दैनथे । तर ह्वाइट हाउसले राष्ट्रपतिको स्वास्थ्यमा पक्षाघातको असर परेको कुरा जनताबाट सधैँ लुकाउने प्रयत्न गरिरह्यो । अमेरिकाका सबैभन्दा कान्छो राष्ट्रपतिको स्वास्थ्यमा समस्या रहेको कुरा बाहिर आउन कैयौँ वर्ष लाग्यो । उनी ‘एड्रिनल डिसअर्डर’ बाट पीडित थिए । तर ती स्वास्थ्य समस्या वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो संक्रामक रोगसँग सम्बन्धित थिएनन् । आउँदो नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्य्राटिक उम्मेदवार जो बाइडनसँग ट्रम्पको प्रतिस्पर्धा हुनेछ । शनिबार राष्ट्रपति ट्रम्पले आफू चुनावी प्रचारप्रसार अभियानमा फर्किन चाहेको बताएका थिए ।