२७ बैशाख २०८१, बिहीबार

 

हुवावेको बजार ओगट्दै सामसङले बढायो ५८ प्रतिशत नाफा

चिनियाँ कम्पनी हुवावेलाई जासुसी प्रविधि कम्पनी करार गर्दै अमेरिकाले प्रतिबन्ध लगाएपछि यसको सबैभन्दा ठूलो लाभ दक्षिण कोरियाली कम्पनी सामसङलाई मिलेको छ ।

ग्लोबल मार्केटमा मोबाइल फोन उत्पादन तथा बिक्रीमा कडा प्रतिस्पर्धा गर्दै आएका यी दुई ठूला कम्पनीमध्ये हुवावेको बजार अमेरिकाका साथै युरोप र अन्यत्रका विभिन्न मुलुकमा निषेध भएसँगै सामसङले बजार हिस्सा बढाउने मौका पाएको हो ।

मोबाइल फोन तथा मेमोरी चिप उत्पादक कोरियन जायन्ट सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले चालू वर्षको तेस्रो त्रैमासको नाफा ५८ प्रतिशतले बढेको बताएको छ ।

चालू वर्षको तेस्रो त्रैमासको यो नाफा वृद्धि दुई वर्षयताको सर्वाधिक भएको सामसङले जानकारी गराएको हो । सामसङले बिहीबार सार्वजनिक गरेको वित्तीय हाइलाइट्सअनुसार यसले २०२० जुलाई–सेप्टेम्बर त्रैमासमा करिब १२३ खर्ब वन (१०.६ अर्ब अमेरिकी डलर) नाफा गरेको छ । सन् २०१८ को तेस्रो त्रैमासमा कमाएको १७५.७ खर्ब वन नाफापछि सामसङको यो सबैभन्दा बलियो वित्तीय नतिजा हो ।

वित्तीय विश्लेषण संस्था रिफाइनिटिभ स्मार्ट इस्टिमेटले पछिल्लो त्रैमासमा सामसङको सञ्चालन नाफा १०५ खर्ब वनभन्दा माथि नजाने अनुमान गरेको थियो । यसका बाबजुद १८ खर्ब वनले बढी सञ्चालन नाफा गरेको सामसङले आम्दानी अघिल्लो वर्षको ठीक यही त्रैमासको भन्दा ६ प्रतिशतले बढाएर ६६० खर्ब वन पु¥याएको बताइएको छ ।

नियामकलाई प्रस्तुत गर्नुपर्ने सीमित वित्तीय तथ्यांकअन्तर्गत सामसङले बिहीबार यी आँकडा सार्वजनिक गरेको हो । यसले कम्पनीको आयको विस्तृत विवरण पनि यसै महिनाभित्र सार्वजनिक गर्ने जनाएको छ ।

फ्ल्यागसिप सेरिजको मोबाइल ‘ग्यालेक्सी नोट ७’ को ब्याट्रीमा खराबी आएसँगै लडखडाएको बजार र आम्दानीलाई सामसुङले त्यसपछिका फ्ल्यागसिप फोनहरुको बिक्रीबाट कभर गर्ने प्रयास गर्दै लगेको थियो ।

यसका बाबजुद यो वर्ष कोभिड–१९ को संकटले सामसङको आम्दानी नराम्ररी प्रभावित हुने विश्लेषकहरूको अनुमान थियो । तर त्यसलाई गलत साबित गर्दै यसले पछिल्लो त्रैमासमा दुई वर्षकै उच्च नाफा कमाएको छ ।

चिनियाँ प्रविधि जायन्ट हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेडविरुद्ध अमेरिकाको कठोर कदमसँगै अमेरिकी कम्पनी गुगलले पनि आफ्ना कुनै पनि एप्स तथा प्लेटफर्म हुवावेका आगामी सेटमा सपोर्टको एक्सेस नदिने घोषणा गरेको थियो ।

तर, अमेरिकी सरकारलाई सघाउन गरेको यो निर्णयबाट गुगलले पनि हुवावेबाट वार्षिक ४२.५ करोड डलरको आम्दानी गुमाएको थियो । अर्कातर्फ अमेरिकी कम्पनीले उत्पादन गरेको चिप खरिदमा पनि हुवावेलाई पहुँच नदिने निर्णय ट्रम्प प्रशासनबाट भयो । यससँगै चीनबाहिर धेरै मुलुकमा हुवावेका मोबाइलको बिक्री एकाएक घट्न थालेको थियो ।

कोभिडका कारण भौतिक दूरी बढ्दै जाँदा ई–कमर्स, ई–लर्निङ, रिमोट वर्क र भर्चुअल मिटिङ तथा कन्फेरेन्सहरूको प्रयोग व्यापक रूपमा बढ्दा यसले मोबाइल फोनको बिक्री पनि उल्लेख्य बढेको छ ।

यसबाट पछिल्लो समय स्मार्ट फोन उत्पादन पनि व्यापक बनाएको सामसङलाई ठूलो फाइदा पुगेको हो । सामसङ इलेक्ट्रोनिक्सले आफ्ना विभिन्न उत्पादनमध्ये चर्को प्रतिस्पर्धा रहेको सेगमेन्ट स्मार्टफोनको नाफालाई सबैभन्दा प्राथमिकतामा राखेको छ ।

यसमा चिनियाँ प्रतिस्पर्धीको बजार हिस्सा खोस्नुका साथै मार्केटिङमा खर्च हुँदै आएको ठूलो धनराशि जोगाउन कोभिड–१९ का कारण सहयोग पुगेकाले पनि सामसङले स्मार्टफोनतर्फ चार वर्षयताकै सर्वाधिक ठूलो नाफा कमाउने अपेक्षा राखेको विश्लेषकलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

‘अमेरिकाले प्रतिबन्ध लगाएसँगै हुवावेले उक्त क्षेत्रमा फोन बिक्रीका साथै सर्भिस पनि बन्द गर्ने अनुमानमा धेरै उपभोक्ताले हुवावेको मोबाइल खरिदमा अनिच्छा देखाउन थाले,’ काउन्टर प्वाइन्ट नामक संस्थाका विश्लेषक टम क्याङ भन्छन्, ‘यसलाई हेरेर सामसङले मध्यम तथा तल्लो रेन्जका फोनको बिक्री व्यापक रूपमा बढायो ।

यसले पनि सामसङको मोबाइल बिक्रीबाट आय र नाफा उल्लेख्य रूपमा सुध्रने निश्चित छ ।’ अर्कातर्फ गत जुनमा सीमा विवाद उब्जिएसँगै भारतमा बढेको चीनविरोधी भावनाको लाभ पनि सामसङलाई मिलेको बताइएको छ ।

चिनियाँ होम अप्लायन्स तथा मोबाइल फोनप्रति भारतीय उपभोक्ताको उपेक्षा बढ्दा सामसङका उत्पादनको बजार हिस्सा तथा बिक्री पछिल्लो समय भारतमा पनि बढेको छ । यसबाट भारतको स्मार्टफोन बजारमा सबैभन्दा ठूलो हिस्सा बनाउँदै गएको साओमीका साथै अन्य चिनियाँ मोबाइल ब्रान्डलाई धक्का लाग्न थालिसकेको देखिएको छ ।

मोबाइल फोनमा मात्र नभएर चिप बिक्रीको आम्दानी पनि सामसङले बढाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष सामसङको चिप बजार ७ प्रतिशतले वृद्धि भएको यसले बिहीबार सार्वजनिक गरेको वित्तीय संक्षेपमा उल्लेख छ ।

यसका बाबजुद तेस्रो त्रैमासमा हासिल गरेको लयलाई सामसङले चौथो त्रैमासमा पनि कायम राख्न सक्नेमा भने विश्लेषकहरुले संशय प्रकट गरेका छन् ।

मेमोरी चिपहरूको मूल्य घट्न थाल्नुका साथै एप्पल आइफोनको नयाँ मोडेल बजारमा आउन लागेकाले पनि यी दुवैले सामसङको आगामी त्रैमासको आम्दानी र नाफा प्रभावित हुने अनुमान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्