बागलुङ । बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले समाज रुपान्तरणका लागि विधिको शासनलाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
७२ औँ कानुन दिवसको अवसरमा बागलुङ उच्च अदालत बार एसोसियसनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीले विधिको शासनलाई पूर्ण रुपमा पालना गर्न नसके लोकतन्त्र र गणतन्त्रको अस्तित्व नरहने बताएका थिए ।
कार्यक्रममा सहभागी बार तथा बेञ्जसँम्ग सम्वन्धीत व्यक्तिहरु एवं पत्रकारहरुले विधिको शासनको पूर्ण पालन हुन सकेमा कानुनी राज्यको स्थापना हुने र न्याय प्रणाली मजवुत हुनेमा जोड दिएका थिए । न्याय प्रणालीलाई बलियो बनाउन राजनैतिक दल जिम्मेवार हुनुपर्नेमा उनीहरुको सुझाव थियो ।
कार्यक्रममा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश यज्ञबहादुर रानाले हरेक क्षेत्रमा न्यायको सहज पहुँच पु¥याउन सकेमा पीडितले समयमै न्याय पाउने र कानुनको परिधिभित्र रहेर काम गरेमा समाज रुपान्तरण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा पौडेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, वारका पूर्वअध्यक्ष निरञ्जनलाल राजभण्डारी, अधिवक्ता राम शर्मा, अधिवक्ता राजु गौतम, अधिवक्ता भुमिश्वर गौतम, अधिवक्ता अखिलनाथ शर्मा लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बागलुङ उच्च अदालत बार एसोसियसनका अध्यक्ष अधिवक्ता रमेशबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष अधिवक्ता हरिकृष्ण सुवेदीको स्वागत र सचिव अधिवक्ता उमाशंकर सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































