६ जेष्ठ २०८१, आईतवार

 

यातायात कार्यालयको सेवालाई थप छिटो छरितो बनाउन सरोकारवालाहरूको जोड

बागलुङ । यातायात व्यवस्था कार्यालयसंग सम्वन्धीत सरोकारवालाहरुले कार्यलयको सेवालाई छिटो छरितो बनाउन सुझाव दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय गण्डकीको आयोजना र सुशासनका लागि नागरिक समाजको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले पछिल्लो समय यातायात व्यवस्था कार्यालय बागलुङले प्रदान गर्ने सेवा सुविधा व्यवस्थित बन्दै गएको भएपनि सेवालाई थप छिटो छरितो बनाउन सुझाव दिएका हुन् ।

साविक धौलागिरिका ४ जिल्ला हेर्ने कार्यालयले सेवालाई थप व्यवस्थित र छिटो छरितो बनाउन आवश्यक रहेकोमा जोड दिदै सरोकारवालाहरुले यो वा त्यो वाहानामा टाढाबाट आउने सेवाग्राहीले समस्या भोग्न नपर्ने गरि सेवा प्रदान गर्न आग्रह गरेका थिए ।  

यातायात व्यवस्था कार्यालयले गरेका कामको वारेमा चर्चा गर्दै सहभागी सरोकारवालाहरुले समयमा लाइसेन्स आउन नसक्नु, बिचौलीयाको समस्या, मेडिकल शुल्कमा भएको समस्या, २ बजे नै राजस्व बन्द हुँदा भएका समस्या लगाएतका बिषयमा सचेत गराएका थिए । उनिहरुले कर्मचारीको अभावका कारण सेवा लिन असहज भएको, सरभर डाउन भएर समयमा काम हुन नसकेको गुनासो गरेका थिए ।

कार्यालयले आर्थिक बर्ष २०७९(०८० मा गरेको कार्यको जानकारी दिदै कार्यालय प्रमुख गोमादेवि शर्माले सरोकारवाला र सेवाग्राहीबाट आएका गुनासालाई सम्वोधन गर्नका लागि निरन्तर लागि रहने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोमादेवि शर्माको अध्यक्षता, सुशासनका लागि नागरिक समाजका कार्यवहाक अध्यक्ष सिरोजबिजय कोइरालाको स्वागत र समाजका सचिव भानु पराजुलीको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्