४ जेष्ठ २०८१, शुक्रबार

 

यस्तो छ बाइडनको ह्वाइट हाउससम्मको यात्रा, यस्ता थिए उनले सहेका चोटहरू

डेमाक््रयाटिक पार्टीका उम्मेदवार जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन् ।

उनी सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन् । जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् । बाइडनको वासिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए ।

प्रभावशाली वक्ता

उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुन् । तर, कहिलेकाहीँ आफूले बोलेको गलत वाक्यले उनलाई अप्ठेरोमा पारिदिन्छ ।

भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो । बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन् ।

एउटा ¥यालीमा भाषण गर्दै उनले भनेका थिए– ‘मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे ।’ उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए । तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् ।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, ‘मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा ।’

विचार नगरी उनले भनेको यो कुरालाई निकट मित्रता मात्र नभई यौनसम्बन्ध रहेको रूपमा समेत अथ्र्याउन सकिन्थ्यो । सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए । उपराष्ट्रपतिका रूपमा सन् २००९ मा उनले ‘अर्थतन्त्रमा हामीले हानि पु¥याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रस्त बनाइदिए ।

नजिकबाट मतदाताको आवाज सुन्ने क्षमता

मतदाताहरूसँगको भेटघाटमा बाइडन निकै सहजरूपमा प्रस्तुत हुन्छन् । उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ । रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन् ।

बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन् । बाइडनले अमेरिकी सिनेटका चुनाव सातपटक जितेका छन् ।

खास गरी कामदार तथा मजदुर वर्गलाई बाइडन आफ्नो स्वस्फूर्त भाषणमार्फत तरंगित पारिदिन सक्छन् । भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन्– कुनै रकस्टारले जस्तै ।

‘उनी मानिसहरूसँग अंकमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ । कृत्रिम हुँदैन,’ पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्कर पत्रिकालाई बताए । तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन् ।

जुन आरोपको बाइडनले सामना गर्नुपर्यो

आफ्नो व्यवहारलाई लिएर बाइडनले महिलाहरूबाट कैयौँ आरोप खेपेका छन् । गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेजस्तो गर्छन् भनेर पनि चित्रण गरे ।

प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पु¥याउने बताए । तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले यौन आक्रमण गरेको आरोप लगाइन् । त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन् । बाइडनले सो आरोप अस्वीकार गरे । उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी ग¥यो ।

५० वर्षको राजनीतिक इतिहास

सन् १९८७ मा बाइडन पहिलो पटक राष्ट्रपतिका आकांक्षी बनेका थिए । अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् ।

सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पु¥याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए ।

यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ । ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए ।

बाइडनले सहेका चोटहरू

बाइडनकी पहिलो पत्नी नेलिया र छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण उनलो भोगेको पारिवारिक शोक हुन सक्छ ।

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनकी पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए ।

बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए । सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्युमरका कारण उनका छोरा बो बाइडनको निधन भयो । आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीको सहानुभूति छ ।

तर उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ । हन्टर बाइडनले पिताको राजनीतिमा जटिलता उत्पन्न गरिदिएका छन् । हन्टर पहिले वकिल थिए । पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो ।

उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणका रूपमा प्रस्तुत गरेकी थिइन् । कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरिकी जलसेनाबाट निष्कासनमा परेका थिए । उनले द न्युयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्विकारेका थिए ।

ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो । गत वर्ष हन्टरले दोस्रो बिहे गरेका थिए । उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडन पनि विवादमा तानिएका छन् ।

उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ युक्रेन थियो । त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रष्टाचारको अनुसन्धान गर्न दबाब दिएको भन्ने आरोप लाग्यो ।

कूटनीतिक अनुभवले खारिएका मानिस

बाइडनसँग विश्वमञ्चको धेरै अनुभव छ । कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ ।

उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए । आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् ।

सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले । अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए ।

सो कारबाहीमा बिन लादेन मारिएका थिए । बाइडनका दृष्टिकोणहरू डेमोक््रयाटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन् ।

उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन् ।तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन् । उनका अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन् ।

बीबीसी र एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्