१५ बैशाख २०८१, शनिबार

 

इजरायल गाजा युद्धलाई अमेरिकी शक्ति परीक्षणका रुपमा लिएका ब्लिंकेन

तेल अविवस्थित ६ तलामुनि रहेको बंकरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच ९ घण्टा लामो वार्ता चलेको थियो ।

बन्द कोठाभित्र के वार्ता भयो भन्ने कुरा राति २स्१४ सम्म जागै बसेका दुबै पक्षका सल्लाहकारहरु बेखबर थिए । नेतान्याहुलाई भेट्नुअघि ब्लिंकेनले अरब राष्ट्रका ६ मुलुकका प्रतिनिधिसँग पनि वार्ता गरेका थिए । उनीहरुको आक्रोश सुनेर नेतान्याहु भेट्न पुगेका ब्लिंकेनले अरब नेताका आक्रोश उनलाई सुनाए । गाजामा भीषण हमला गरिरहेको इजरायललाई त्यहाँ मानवीय संकट निम्तिएको भन्दै आवश्यक मानवीय सहयोग पुर्‍याउन आग्रह गरे ।

दुई नेताबीच बृहत संवाद चलिरहेको समयमा इजरायलको भीषण आक्रमण जारी नै थियो । ब्लिंकेनको आग्रह सुन्नेबित्तिकै नेतान्याहु चिढिए । ‘एक थोपा पानी वा एक मुठ्ठी खानेकुरा पनि सीमा पार भयो भने इजरायलले सहन गर्दैन’, नेतान्याहुको भनाइबारे अमेरिकी एक वरिष्ठ अधिकारीलाइ उद्दृत गर्दै टाइमले लेखेको छ ।

इजरायली प्रशासनिक भवन करियामा भएको वार्तामा अमेरिकाले गरेको आग्रह इजरायलले अस्वीकार गर्‍यो । अमेरिकी विदेश मन्त्री ब्लिंकेनले आफ्नो अडान भने छोडेनन् । ब्लिंकेनले नेतान्याहुलाई भनिदिए, ‘यदि हमासलाई सखाप पार्ने इजरायली अडान हो भने मानवीय सहायताका निम्ति कुनै पनि अवरोध हुनुहुँदैन ।’

बिहान ३ बजे ब्लिंकेन सञ्चारकर्मीहरुमाझ उपस्थित भए । क्यामेराका सामुन्ने उनले भने, ‘इजरायलको सुरक्षाप्रति अमेरिकाको दृढ प्रतिवद्धता छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले छिट्टै इजरायलको भ्रमण गर्नुहुनेछ र त्यसअघि गाजामा मानवीय सहायता पठाउनका निम्ति अवरोध नगर्ने सम्बन्धमा इजरायल सहमत भएको छ ।’

उक्त वार्तापछि २१ अक्टोबरमा २० ट्रक सहायता र गाजामा पुग्यो । त्यस वार्ताको परिणामबारे स्मरण गर्दै ब्लिंकेनले टाइसँग भनेका छन्, ‘अन्तत अमेरिकी तर्कको जित भयो ।’

यस्ता म्याराथन वार्ताका श्रृंखला ब्लिंकेनका निम्ति सामान्यझैँ हुन थालेका छन् । सार्वजनिक रुपमा गाजाविरुद्धको युद्धमा अमेरिकाले इजरायललाई समर्थन गरेको छ । अमेरिकी ढाडस पाएको इजरायलले २२ हजार भन्दा बढी प्यालेस्टाइनको ज्यान लिइसकेको छ । युद्धमा इजरायललाई समर्थन गरेको वासिंटनले संयमताका लागि मनाउन विदेशमन्त्री ब्लिंकेनलाई खटाएको छ ।

तीन महिनायता, उनले पटक(पटक इजरायली पक्षसँग वार्ता गरेका छन् । युद्धको क्षतिको तुलनामा वार्ताको परिणाम निकै कमजोर छ । ब्लिंकेनको जोडपछि एक दिनमा १०० ट्रकसम्म मानवीय सहायता गाजामा पुगेका छन् ।

हमासले बन्दी बनाएका चार जना अमेरिकी रिहा भएका छन् । चार घण्टासम्म युद्धविराम पनि भएको थियो । तथापि वार्ताको परिणामबारे ब्लिंकेनले टाइसँग भनेका छन्, ‘यो परिणाम पुर्णतस् अपर्याप्त छ । तर सानै अंशमा सही केही कुराको सुरुवात त भएको छ ।’

यो स्थिति महाशक्ति अमेरिकाका लागि असहज हो । राष्ट्रपति जो बाइडेनले विश्व मञ्चमा अमेरिकी नेतृत्वलाई बलियो गरी स्थापित गर्ने बताएका थिए । तर त्यसमा उनी सफल हुन सकिरहेका छैनन् ।

अफगानिस्तानबाट सेना फिर्ती, युक्रेनको युद्ध, चीनको चुनौती र गाजाको युद्धले क्षेत्रीय रुपमा मात्रै नभएर बाइडेनलाई पार्टीभित्रै पनि कमजोर बनाएको छ । बाइडेन प्रशासनसामु अहिले विश्वमाझ बढिरहेका चुनौतीको सामना अमेरिकाले गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठिरहेको छ । यी तमाम प्रश्नका उत्तर ब्लिंकेनले दिइरहेका हुन्छन् ।

अक्टोबरमा मध्यपूर्वमा चार पटक पुगेका ब्लिंकेनले राजदरबार, सैन्य हेडक्वार्टर, भिल्ला, विमानस्थलको विश्राम कक्षदेखि बंकरमा बसेर वार्ता गरेका छन् । अरबका नेताहरुले उनको आलिंगन अस्वीकार गरे । इतिहासको स्मरण गराउँदै कतिपयले घण्टौँ उनलाई कुरे ।

इजरायली अधिकारीहरुले सार्वजनिक रुपमै उनको विरोधमा उत्रिए । प्यालेस्टाइन नागरिकको जीवन रक्षाको माग गर्दै उसलाई गरिरहेको समर्थनले थप अस्थिरता निम्तिएको कतिपय कुटनीतिज्ञहरु बताउँछन् । तर ब्लिंकेन थाकेका छैनन् ।

कठिन घडीमा ब्लिंकेनको संयमता र लगावले अमेरिकी नेतृत्वको उदाहरण पेश गरेको उच्चपदस्थ कुटनीतिज्ञहरु बताउँछन् । इजरायलका लागि पूर्वअमेरिकी राजदूत टोम निड्सले भनेका छन्, ‘यो समयमा उपयुक्त पात्र उनै हुन् । ब्लिंकेन एकदम असल मानिस हुन् । उनीसँग खेलवाडको कोशिस कसैले नगरोस् ।’

विश्वमा अमेरिकी शक्तिको विश्वसनीयता कमजोर बनिरहेको भन्दै घरेलु राजनीतिमा दबाब बढिरहेका बेला उसका सहयोगीहरुले भने अप्ठेरोमा अमेरिकालाई नै गुहार्ने गरेका छन् । यस्तो चुनौतीको समयमा ब्लिंकेनको कुटनीतिक शैलीको सान्दर्भिकता रहेको पूर्वविदेशमन्त्री जोन केरीको भनाइ छ ।

‘अहिलेको विश्व फरक छ, यो बहुध्रुवीय बनेको छ । यस्तो समयमा कुटनीतिक पहलको अझै बढी महत्व र माग छ । एन्टोनी ब्लिंकेन वर्तमान समयमा निकै सुहाउने पात्र हुन्’, उनले भनेका छन् । ब्लिंकेनको कुटनीतिको परीक्षण विश्वका विभिन्न क्षेत्रमा भइरहेको छ, मध्यपूर्वमा अझै बढी छ ।

अक्टोबर ७ को बिहान ब्लिंकेन भर्जिनियास्थित निजी आवासमा जागै थिए । उनका प्रमुख स्वकीय सचिवले उनलाई हमासले इजरायमा गरेको हमलाबारे जानकारी गराए । ‘यो जस्तो ज्यादती वा अत्याचार मैले अरु कुनै देखेको थिइनँ’, ब्लिंकेनले त्यस दिनको स्मरण गर्दै भनेका छन् ।

हमला भएको पाँच दिनपछि ब्लिंकेन तेल अविव पुगे । इजरायली प्रधानमन्त्री नेतान्याहुलाई ढाडस दिँदै उनले भने, ’हामी सधैँ इजरायलको साथमा छौँ । यो बेला निकै स्पष्ट ढंगले अघि बढ्नुपर्छ ।’

त्यहाँ पुगेर उनले इजरायलीका दुस्ख र पीडा महसुस गरे । त्यहाँ उनलाई शिशुको टाउकोमा गोली हानिएको तस्वीर देखाइयो । त्यहाँको क्रन्दन सुनाइयो । दुई दिनका निम्ति इजरायल पुगेका ब्लिंकेनले मध्यपूर्वमा आफ्नो बसाइ सातासम्म लम्ब्याए ।

ब्लिंकेनले जोर्डन, कतार, बहराइन, साउदी अरब, युएई र इजिप्टमा पुगेर त्यहाँका नेताहरुसँग छलफल गरे । ‘हमाससँग अब विगतकोझैँ व्यवहार हामीबाट हुनेछैन’, मध्यपूर्वमा तनाव नबढोस् भन्ने चाहना राखेका नेताहरुलाई उनले सुनाए ।

वार्तामा बस्दा सुरक्षा अधिकारीहरु सुटको सट्टा कवज लगाउँथे । साइरन बज्नेबित्तिकै बंकरतर्फ जान्थे । यस्तो तनावपूर्ण अवस्थामा ब्लिंकेन वार्ता जारी राख्थे । बाहिर आउँदा केही न केही उपलब्धि हात परेको भावभंगीमा उनमा हुन्थ्यो ।

‘कुनै उपलब्धि बत्ती बालेझैँ एकै चुट्कीमा प्राप्त हुँदैन । निरन्तरको संवादले नै केही न केही कमजोरीलाई सुधार्दै लान्छ र कमजोरीको अनुभव गर्दा साथ नतिजा पनि निस्किन्छ’, वार्ताको प्रकृतिबारे ब्लिंकेन भन्छन् ।

ब्लिंकेनले दोस्रो चरणको भ्रमण नोभेम्बरको सुरुवाततिर गरेका थिए । त्यसबखत इजरायलको मानसिकता केही परिवर्तन भएको थियो । हवाइ हमला स्थगन गर्दै उसले स्थल आक्रमण सुरु गरेको थियो ।

गाजामा नरसंहार मच्चाउँदै मानवीय संकट निम्तिँदा समेत प्रभावकारी हस्तक्षेप नगरेको भन्दै अमेरिकाको सर्वत्र आलोचना र विरोध सुरु भएको थियो । अमेरिकाप्रतिको दबाब आफूहरुले समेत महशुस गरेको अमेरिकाका लागि पूर्व इजरायली राजदूत मिचेर ओरेन बताउँछन् ।

‘मानवीय संकटलाई अघि सार्दै अमेरिकामाथि बढाइएको दबाब हामीले पनि महसुस गरेका थियौँ । गाजाको मानवीय संकटका कारण बाइडेन पार्टीभित्रै पनि घेराबन्दीमा थिए’, ओरेनले टाइमसँग भनेका छन् ।

दबाब बढ्दै गएपछि अमेरिकाले पनि इजरायललाई मानवीय संकटलाई मध्यजनगर गर्न दबाब दियो । तर इजरायलले अमेरिकाको त्यस आग्रहलाई मानेन । बरु नेतान्याहूले भनिदिए, ‘अमेरिकी यो आग्रह कुटनीतिक आइरन डोम हो । यसलाई हामी स्वीकार गर्दैनौँ ।’

इजरायलले आफ्नो अनुरोध बारम्बार अस्वीकार गर्दा ब्लिंकेन र बाइडेन नराम्रो र खराब मध्ये एक विकल्प रोज्नुपर्ने अवस्थासम्म पुगेका थिए । मध्यपूर्वबारे डेमोक्र्याट र रिपब्लिकन दुबै प्रशासनलाई सल्लाह दिने व्यक्ति हुन् डेभिड मिलर । उनको मूल्यांकन अनुसार बाइडेन र नेतान्याहुको निकै व्यक्तिगत सम्बन्ध छ ।

नेतान्याहुलाई चिढ्याउँदा अमेरिकालाई प्रत्युत्पादक हुनसक्नेमा बाइडेन निकै सचेत छन् । ‘इजरायलको चुनौतीका बाबजुद बाइडेनले कुनै कदम चालेनन् । नेतान्याहुलाई चिढ्याउनु आफ्ना निम्ति राजनीतिक रुपमा महँगो र प्रत्युत्पादक साबित हुनेमा बाइडेन सचेत छन्’, मिलरले भनेका छन् ।

समय क्रमसँगै ब्लिंकेनका सार्वजनिक मन्तव्य परिवर्तन हुन थाले । उनले प्यालेस्टाइनप्रति सहानुभूति प्रकट गर्न थाले । ‘जब म भग्नावशेषबाट निकालिएका बालबालिकाका शव हेर्छु त्यसले मलाई निकै स्तब्ध बनाउँछ । उनीहरुको अनुहारमा म मेरै सन्तानका चित्र देख्छु’, नोभेम्बर ४ को पत्रकार सम्मेलनमा भावकु मुद्रामा ब्लिंकेनले भनेका थिए ।

इजरायलको तेल अविवमा आयोजित कार्यक्रममा ब्लिंकेन र नेतान्याहु । त्यही दिन उनले जोर्डनको रेगिस होटलमा मध्यपूर्वका समकक्षीहरुसँग वार्ता गरेका थिए । समकक्षीहरुले ब्लिंकेनलाई इजरायल अन्तर्राष्ट्रिय कानुनभन्दा माथि हो भनेर सोध्दै र्‍याखर्‍याख पारेका थिए ।

यदि होइन भने इजरायलले अवोधहरुमाथि मच्चाएको नरंसहारमा अमेरिका किन बोल्दैन भनेर प्रश्न सोधेका थिए ।‘इजरायलले युद्ध अपराध मच्चाउँदासमेत अमेरिकाले सहयोग गरिरहेको छ ।

सबै तरिकाले इजरायललाई सहयोग गर्ने हो भने पनि गर केही भएन तर यो युद्ध अपराधको विपक्षमा नबोलेर अमेरिकाले इजरायललाई अहसयोग गरेको छ’, मध्यपूर्वमा अमेरिकाको सहयोगी राष्ट्र जोर्डनका विदेशमन्त्री अएमन शफादीले भने ।

यो युद्ध अमेरिका र ब्लिंकेनको प्रभावको परीक्षणमा परिणत हुँदै गयो । अमेरिकी कूटनीतिको आवरणका रुपमा ब्लिंकेनले सबै आलोचनाको जिम्मेवारी आफूमाथि थोपर्दै गए । वेस्ट बैंकको रमल्लाह भ्रमणका क्रममा प्रदर्शनकारीहरुले उनको तस्वीर जलाए । अंकरा आउँदा बच्चाहरुको हत्यारा लेखिएको ब्यानरमा ब्लिंकेनको आँखा पुग्यो ।

यसले ब्लिंकेनमाथि निकै दबाब परेको उनीसँग दशकौँदेखि काम गरिरहेका जेम्स स्टेनवर्गले बताए । ‘यस्ता गतिविधिले ब्लिंकेनमाथि निकै दबाब परेको थियो । इजरायली व्यवहार परिवर्तन नभएको अवस्थामा सम्पूर्ण असफलताको जिम्मा ब्लिंकेनको थाप्लोमा आउने स्थिति बन्दै गयो’, उनले टाइमसँग भनेका छन् ।

यस्तो जटिल समयमा व्यस्त ब्लिंकेन सकभर बिहानको खाना भने परिवारसँगै खान खोज्थे । डिसम्बेर ८ मा उनी परिवारसँग जसै खानका निम्ति बसे बाहिर उनीहरुविरुद्ध नाराबाजी भयो ।

‘यो नरसंहार मच्चाउने तिमी नै हो अब त जाग ब्लिंकेन अब त जाग’, प्रदर्शनकारीहरुले आवाज बुलन्द पारे ।ब्लिंकेन कुटनीतिक विरासतबाटै आएका व्यक्ति हुन् । उनका पिता डोनाल्ड ब्लिंकेन हंगेरीका निम्ति अमेरिकी राजदूत थिए । उनका सौतेनी पिता सेम्युअल पिसर पनि कुनटनीतिक पृष्ठभूमिका थिए ।

न्यूयोर्कमा जन्मिएका ब्लिंकेन पेरिमा हुर्किए । अमेरिका फर्किएर हावर्डमा आए । पत्रकारिता र चलचित्र निर्माणसँगै कानुन पढेका उनी बिल क्लिन्टनको पालामा ह्वाइटहाउस छिरेका हुन् ।

लामो समय उनी राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत रहे । सन् १९९५ मा उनले इभान रायनलाई भेटे । रायन फस्ट लेडी हिलारी क्लिन्टनको सचिवालयमा काम गर्थिन् । अहिले उनी राष्ट्रपति कार्यलयको सचिव छिन् ।

सन् २००२ मा ब्लिंकेनले सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सचिवका रुपमा बाइडेनसँग काम गरेका थिए । ओबामाको समयमा पनि उनी उपविदेशमन्त्रीका रुपमा कार्यरत रहे । २० वर्षको इतिहास हेर्ने हो भने कुनैपनि मुख्य विदेश नीति मस्यौदा वा यससँग सम्बन्धित अन्य महत्वपूर्ण कार्यक्रममा बाइडेनका एकल तस्वीर भेट्न निकै मुश्किल छ । तर उनी संलग्न रहेका हरेक त्यस्ता कार्यक्रमममा ब्लिंकेन सँगै हुन्थे ।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा कुटनीतिलाई ध्वस्तै बनाएको आरोप छ । कर्मचारीको मनोबल निकै गिरेको र बजेट कटौतीका कारण विदेश मन्त्रालयमा खासै रौनक नरहेको कर्मचारीहरु बताउँथे । ध्वस्त कुटनीतिलाई लयमा फर्काउन र कर्मचारीहरुको मनोबल बढाउन बाइडेनले ब्लिंकेनलाई रोजे ।

‘बहुध्रुवीकृत विश्वका चुनौती हामीसँग थुप्रै छन् तीनलाई चिर्दै अघि बढनुपर्नेछ । हाम्रा सहयोगीहरुलाई खतरा हुन नदिन र हाम्रा प्रतिद्वन्द्वीहरुलाई हामीभन्दा बलियो हुन नदिन निकै मिहिनेत गर्नुपर्ने स्थिति छ’, बाइडेनले पहिलो दिनमा भनेको कुरा स्मरणमा ब्लिंकेन भन्छन् ।

बाइडेन प्रशासनका महत्वपूर्ण खम्बामध्ये ब्लिंकेन पनि एक हुन् । बाइडेनको टिममा जेक सुलिभान, बिल बर्नस छन् । बर्नस निकै अनुभवी कुटनीतिज्ञ हुन् । हमासले बन्दी बनाएका अमेरिकी रिहाको जिम्मेवारी उनैलाई दिइएको थियो । अनुभवी कुटनीतिज्ञहरुको जमात भएपनि बाइडेन साँघुरो घेराबन्दीभित्र रहेकाले महत्वपूर्ण कुरामा चुकिरहेको भन्दै उनको आलोचना हुने गरेको छ ।

सन् २०२१ मा अफगानिस्तानको सरकारको फेरबदलमा विदेश मन्त्रालयले भेउ नपाएको भन्दै निकै आलोचना भएको थियो । त्यसबारे छानबिनका निम्ति ब्लिंकेनको नेतृत्वमा समिति बन्यो । उनले प्रष्ट संवादको कमी र निर्णयकर्ताहरुको अकर्मण्यताका कारण अमेरिका चुकेको प्रतिवेदन बुझाए ।

आलोचनका बाबजुद पनि बाइडेनको टिम यस प्रशासनको महत्वपूर्ण हिस्सा भने हो जसले अधिकांश मुद्दामा सफलता समेत हात पारेको छ । सन् २०२१ को अन्त्यतिर ब्लिंकेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जलेनेस्कीलाई ग्लास्गो सम्मेलनमा बोलाएर रूसले आक्रमणको तयारी गरिरहेको अमेरिकी जासुसी संयन्त्रको प्रतिवेदन पुष्टि गराए ।

त्यसपछि ब्लिंकेनले युक्रेनमाथि हमला भएको अवस्थामा प्रतिवाद र सहयोगका लागि तयार रहन सहयोगी गठबन्धनलाई खबर गरे । युक्रेनमा युद्धपछि ब्लिंकेन चार पटक त्यहाँ पुगिसकेका छन् । ११० अर्ब डलरभन्दा बढीको सहयोग उनकै अग्रसरताका कारण त्यहाँ पुगेको छ ।

युक्रेन र रुसको युद्ध दोस्रो वर्षतर्फ प्रवेश गरिरहँदा यो युद्ध अमेरिकाकै लागि घाँडो भएको छ । युद्धकै कारण बाइडेन प्रशासनमाथि घरेलु राजनीतिमा चुनौती थपिएको छ । रिपब्लिकनहरुले युक्रेनमाथिको सहयोग रोक्न दबाब दिइरहेका छन् ।

‘पुटिनले युक्रेनलाई यसै छोड्ने छैनन् र जतिनै विरोध भएपनि हामीले पुटिनको दण्डहीनतालाई प्रोत्साहन गर्न मिल्दैन’, ब्लिंकेन भन्छन् ।

अमेरिकी गठबन्धनमा आवद्ध राष्ट्रहरुमा सन् २०२४ को निर्वाचनमा ट्रम्प आउनसक्ने त्रास रहेकाले अमेरिकालाई विश्वास गर्ने वा नगर्ने भन्ने चिन्ता छ । तीन महादेशमा द्वन्द्व बढिरहेको समयमा अमेरिकाले विश्व नेतृत्व त्याग्न सक्ने सन्त्रास पनि कतिपय सहयोगी राष्ट्रहरुमाझ छ ।

ब्लिंकेनसँग ओबामा प्रशासनका बखत काम गरेका टोम सेनन भन्छन्, ‘हाम्रा अतिनै निकट र सहयोगी राष्ट्रहरु समेत यो प्रशासन ट्रम्पवादबाट टाढा रह्यो भन्ने विश्वास गर्न सकिरहेका छैनन् ।’घरेलु राजनीतिमा पनि बाइडेन प्रशासनले गाजाको युद्धको व्यवस्थापनमा बाइडेन प्रशासन चुकेको कुरामा ५७ प्रतिशत मतदाता सहमत रहेको न्यूयोर्क टाइम्सको सर्वेक्षणमा उल्लेख छ ।

विदेश मन्त्रालयभित्र पनि पटक(पटक ब्लिंकेनको आलोचना हुने गरेको छ । ‘हामीले धरातलीय यथार्थलाई नजरअन्दाज गर्दै आफ्नो नीतिमा मात्रै अडिग रह्यौँ । निहत्था प्यालेस्टाइनको हत्या र मध्यपूर्वमा शान्ति र स्थायित्वको विरुद्धमा हाम्रो नीति अघि बढेको छ’, अमेरिकी विदेश मन्त्रालय कार्यालयका निर्देशकबाट राजीनामा दिएका जोस पउल भन्छन् ।

ब्लिंकेन यस्ता आलोचनालाई सकारात्मक रुपमा लिन्छन् । ब्लिंकेन मध्यपूर्वको चौथो भ्रमणको तयारीमा रहेका बेला अमेरिकाको सामु फेरि चुनौती आइपरेको छ । इरान निकट सशस्त्र समूह हुथीले अमेरिकी सेनामाथि हमला छेड्यो । उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्‍यो । ताइवानको निर्वाचन परिणामलाई लिएर अमेरिकी बधाइप्रति चीनबाट कडा चेतावनी प्राप्त भयो ।

चौतर्फी चुनौती भोगिरहेको अमेरिकालाई हमास र इजरायविरुद्धको युद्ध शक्ति परीक्षणको थलो बनेको छ । यस युद्धलाई अन्त्य गर्ने नै वर्तमान प्रशासनको प्राथामिकता रहेको ब्लिंकेन बताउँछन् ।

विश्वसामु आफ्नो विश्वसनीयता नगुमोस् भन्नका निम्ति अमेरिका परिणाम निकाल्नै पर्ने बाध्यतामा छ । इजरायल र हमास युद्ध नियालिरहेका ट्रम्प प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहका जोन बोल्टन भन्छन्, ‘यस युद्धमा हामी अलमलिएका छौँ । हामीले इजरायललाई या त आक्रामक या त संयमता अपनाउ भन्न सक्छौँ । तर वर्तमान प्रशासनले दुबै काम एकैपटक गर भनेर भनिरहेको छ ।’

ब्लिंकेनको कार्यालयको झ्यालबाट लिंकन स्मृति पार्क रहेको छ । ब्लिंकेन बोल्दै गर्दा सफाइ कर्मचारीहरु त्यहाँको मार्बलमा पोछा लगाइरहेका थिए । जुन दृश्य ब्लिंकेनले पनि नियालिरहेका थिए । उनीहरुले बल गरेर घोट्दा पनि अक्षर अझै देखिन्थे –‘फ्री गाजा ।’

तमाम प्रयास असफल भएपनि ब्लिंकेन विचलित भएका छैनन् उनी बोले, ‘वर्तमान समयमा हामी जतिसक्दो जिम्मेवार हुनुपर्छ । इजराय गाजा युद्धमा हामी दीर्घकालीन समाधानका निम्ति जग बसाल्दैछौँ ताकि अब जो आएपनि त्यस मामिलामा हात हाल्न नपरोस् ।’

अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्