
ऋण असुली न्यायाधिकरणले पोखराका व्यवसायी पीयूषबहादुर अमात्य र उनको समूहलाई सात दिनको ‘अल्टिमेटम’ दिएको छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र ब्याज सात दिनभित्र तिरिनसके कारबाही गरिने न्यायाधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सात दिनपछि अमात्य र उक्त समूहको कुनै पनि उजुरबाजुर लाग्ने छैन । न्यायाधिकरणले अमात्य र उनको समूहलाई सावाँ र ब्याजसहित कुल ३६ करोड ३६ लाख रुपैयाँ सात दिनभित्र तिरिसक्न भनेको छ ।
अमात्य समूहले लामो समय ऋण नतिरेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले न्यायाधिकरणमा मुद्दा हालेका थिए । न्यायाधिकरणले अमात्य समूहको विपक्षमा फैसला गरेको थियो । फैसलामा कायम गरिएको ब्याज र सावाँ उठाउने प्रक्रिया प्राधिकरणले सुरु गरेको हो ।
फैसलामा उल्लेख भएअनुसार तत्कालिन लुम्बिनी बैंक (अहिलेको बैंक अफ काठमाण्डू) बाट अमात्य इन्टरप्राइजेज प्रालिले ४४ लाख १ हजार ९४६ रुपैयाँ सावाँ र १ लाख ५४ हजार रुपैयाँ ब्याज भुक्तानी गर्न बाँकी छ ।
यसै गरी एनसीसी बैंकको १५ करोड ९२ लाख १७ हजार र ब्याज ४ करोड ८५ लाख १४ हजार तिर्न बाँकी छ । यो ऋण अमात्य समूहको नेपाल स्टिल प्रालिले लगेको हो ।
यसै गरी माउन्ट बु्रअरीले एनसीसीबाट अर्को ऋण लिएको थियो । त्यसको ६ करोड ३ लाख सावाँ र एक करोड ५० लाख ब्याज कायम भएको छ ।एभरेस्ट आइसक्रिमले एनसीसीबाटै ऋण चलाएको थियो ।
यसबापत ३६ लाख ८२ हजार रुपैयाँ उठाउनुपर्नेछ । यसै गरी दी जनरल ट्रेडिङ एन्ड इन्जिनियरिङले ४ करोड ४७ लाख सावाँ र २ करोड ५७ लाख ब्याज तिर्न बाँकी छ । अमात्य समूहअन्तर्गत पीयूषसँगै हिरेन्द्रबहादुर अमात्य, विनोदबहादुर अमात्य र दमनबहादुर अमात्य सदस्य छन् ।