१५ बैशाख २०८१, शनिबार

 

राजा वीरेन्द्रको निवास ‘श्री सदन’ आइतबारदेखि सर्वसाधारणलाई खुला

नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुला हुने भएको छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले औपचारिक रूपमा शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएदेखि श्री सदन बन्द छ ।

२०७७ वैशाख १ देखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो । आइतबारबाट गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुला हुने दाहालले बताए । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उद्घाटन गरे पनि अवलोकनका लागि खुला भएको छैन ।

भनिन्छ– श्री सदन राजा वीरेन्द्रकै डिजाइनमा बनाइएको थियो । २०२३ सालमा बनेको यो तीनतले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो ।

भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ । तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे । उमेर पुगेपछि अलग बस्नुपर्ने दरबारको नियमअनुसार दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए ।

त्यसपछि उनको कोठा खाली थियो । श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् ।

दोस्रो तलामा कान्छा छोरा नीराजन र छोरी श्रुतिका कोठा छन् । मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरूप दिएको गाडी राखिएको छ ।यसै गरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइनेछ ।

त्यहाँ दीपेन्द्र, श्रुति र नीराजनका खेलौना गाडीहरू पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइनेछ ।

श्रीसदनबाटै गणतन्त्र स्मारकमा जान सकिन्छ । तर अहिले बीचमा पर्ने टुकुचा खोलामा पुल बनिनसकेकाले नारायणहिटी दरबारबाट बाहिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट गणतन्त्र स्मारक प्रवेश गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्