६ जेष्ठ २०८१, आईतवार

 

कोरियामा कामदार ल्याउने प्रक्रिया छिट्टै खुल्ने, भाषापरीक्षा पास गरेर बसेकालाई ६ महिना समय थपिने

दक्षिण कोरियामा कोरोना महामारीका कारण रोकिएको विदेशबाट कामदार ल्याउने प्रक्रिया छिट्टै सुरु हुने भएको छ । भाषापरीक्षा पास गरेर कोरिया आउने पर्खाइमा बसेकाहरूको दुईवर्षे ‘रोस्टर’ समयावधि सकिन लागेकाले उक्त म्याद थप ६ महिना थप्ने निर्णयसमेत गरिएको छ ।

कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली (ईपीएस) माध्यमबाट कामदार कोरिया लैजाने प्रक्रिया स्थगन भएको थियो ।

बुधबार प्रवासी श्रमिक युनियन (एमटीयू) र केसीटीयूको टोलीले कोरियाको रोजगार तथा श्रम मन्त्रालय, प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियाका ईपीएस श्रमिकबारे छलफल गरेको थियो ।

कोरोना महामारीका कारणले प्रवेशमा रोक लगाइएको श्रमिकलाई प्रवेश गराउनेबारे समेत छलफल भएको थियो ।
छलफलपछि ६ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटीयू अध्यक्ष उदय राईले बताए ।

छलफलमा एमटीयूले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, दुईवर्ष अवधि सकिन लागेका श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्नेलगायत कुरामा जोड दिइएको थियो ।

छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन सुरु गरिएको बताए ।

अब छिट्टै नेपाललगायत अरू देशबाट पनि ल्याउने व्यवस्था मिलाइने र अवधि सकिन लागेका श्रमिकको छ महिना समयावधि थप गरिने उनीहरूको भनाइ थियो ।

सन् २०२० का ५६ हजार कोटामध्ये ३३ हजार १ सयलाई अनुमतिपत्र जारी गरिएको थियो । अक्टोबरसम्ममा ६ हजार ७४ जना नयाँ प्रवासी मजदुर मात्र कोरिया प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्