२२ बैशाख २०८१, शनिबार

 

‘प्लाटुन कमान्डर’काे फेरिएको जिम्मेवारी

कुनै बेला रक्तिम परिवारका गायक जीवन शर्माले गाउँदै हिँड्ने एउटा गीतको बोल थियो, ‘दाइ, हाम्रो घर त ताराखोला हो ।’ त्यही ताराखोलामा अहिले उनका भाइ उमेरका प्रकाश घर्तीमगर गाउँपालिका अध्यक्ष छन् । ताराखोलाकै भए पनि आफू गायक शर्माको पक्षपोषक बन्न नसकेको उनले सुनाए ।

घर्तीमगर माओवादी विद्रोहमा सुरुबाटै होमिए । बुर्जुवा शिक्षा बहिष्कार गर्नुपर्छ भन्दै हिँडे । अहिले पालिकाभित्रका विद्यालयमा विद्यार्थी कसरी टिकाउने भन्ने उपाय खोज्दै छन् । भन्छन्, ‘स्कुल ड्रपआउट हाम्रो मात्र समस्या होइन । यसलाई कसरी समाधान गर्ने भनेर खोजीमा छु ।’ विद्यालयमा खाजाको व्यवस्था गरेर हुन्छ वा निजी स्रोतबाट शिक्षक पदपूर्ति गरेर, विद्यार्थी त टिकाउनु नै छ ।

करिब १४ हजार मानिस रहेको ताराखोलामा एउटा निजीसहित २३ विद्यालय छन् । पालिकाले विद्यालय शिक्षाका लागि मात्रै वार्षिक १ करोड ३३ लाख रुपैयाँ छुट्ट्याउँदै छ । विद्यालयहरूमा शिक्षक दरबन्दी अभाव छ । सरकारले आवेदन मागेका १५ सय स्वयंसेवक शिक्षकमध्ये केही आफ्नो पालिकामा पार्न सकिन्छ कि भनेर यति बेला काठमाडौं उत्रिएका छन् घर्तीमगर । मन्त्रालयसँगै आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई पनि समस्या अवगत गराइसके ।

अहिले आएर शिक्षाको महत्त्वबोध भएको छ, ‘जनयुद्ध’ का यी प्लाटुन कमान्डरलाई । त्यसैले आफ्नो पालिकामा शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिएका छन् । पालिकाका कुन विद्यालयमा कति शिक्षक अपुग छन्, कण्ठस्थै छ । कतिसम्म भने दुर्गाभवानी माध्यमिक विद्यालयमा निमावि दरबन्दीका शिक्षकले मावि तह चलाइरहेका छन् । शिक्षक दरबन्दी मात्र पूर्ति गर्न सके पनि ‘ड्रप आउट’ घट्ने उनले देखेका छन् ।

‘जनयुद्ध’ को सुरुताका आठ पढेपछि अब पढाइ पुग्यो भन्ने सामाजिक मनोविज्ञान रहे पनि अहिले त्यो कम्तीमा एसईई (कक्षा–१०) सम्म उक्लिएको छ । तर दूरदराजका विद्यालयमा शिक्षक दरबन्दी र आवश्यक पूर्वाधार नहुँदा विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् । उनी भन्छन्, ‘पढ्न चाहने विद्यार्थीलाई प्लसटुसम्मको अध्ययन–अध्यापनको अवसर स्थानीय तहले उपलब्ध गराउन सक्नुपर्छ ।’ यही कुरा संविधानमा पनि लेखिएको छ ।

कम्तीमा ताराखोलामा यो वातावरण बनाउन लागिपरेका छन् अध्यक्ष घर्तीमगर । बागलुङ सदरमुकामबाट करिब ७० किमीमा रहेको पालिकालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन ‘उद्योग–ग्राम’ स्थापना गर्ने उनको योजना छ । अध्ययनपछि अवसर खोज्दै बाहिरिने जनशक्तिलाई गाउँमै टिकाउनुपर्ने चुनौती छ । पालिकामा प्रतिपक्षीको भूमिका कमजोर रहे पनि आफ्ना काम कसैले औंला ठड्याउन सक्ने खालका नहोऊन् भन्ने चाहन्छन् उनी ।

पालिकाका हरेक व्यक्तिलाई शिक्षा, स्वास्थ्य, सडक र बिजुली बत्तीको पहुँचमा ल्याउने उनको सपना छ । आफ्नो कार्यकालको सफलताको मानक पनि यसैलाई बनाएका छन् । पालिकामा बिजुलीको पहुँच बढाउन निजी क्षेत्र गुहारेका उनले सामुदायिक विद्युतीकरण योजना लागू गरेका छन् । स्थानीय नदीहरूमा लघु जलविद्युत् योजना बनाउन निजी क्षेत्रका लगानीकर्तालाई त्यहाँको ‘भिजिट’ गराएका छन् । सम्भावनाहरू औंल्याइदिएका छन् । उनको योजनालाई लगानीकर्ताले विश्वास पनि गरेका छन् ।

२ दशमलव ५ मेगावाटको निजी आयोजनासँगै अर्को २२ सय मेगावाटको आयोजना पनि बन्दै छ । अर्को एक सामुदायिक योजनामा ३ सय ८० मेगावाटको जलविद्युत्–गृह बनेपछि पालिका बिजुलीमा आत्मनिर्भर हुनेछ । त्यसपछि स्थानीय स्तरमा ग्राम–उद्योगको योजना साकार भई त्यहाँका बासिन्दाको जीवनमा परिवर्तन ल्याउन सकिने उनको बुझाइ छ ।

स्थानीय स्तरमा पाइने अल्लोलाई समेत उपयोगमा ल्याउने योजना बन्दै छ । तामाखानी उत्खननका लागि अध्यक्ष घर्तीमगरले केन्द्र सरकारलाई घचघच्याइरहेका छन् । ताराखोलामा आलु प्रशस्तै हुन्छ । त्यसलाई व्यावसायिक बनाएर आम्दानी बढाउन सकिन्छ । गरिबी निवारणको उपाय पहिल्याउँदै स्थानीय उत्पादन निर्यात गर्ने योजना बनाएका छन् उनले ।
त्यसो त अहिले पनि गाउँपालिका पुग्ने ढुवानीका सवारीसाधन रित्तै नफर्किने, स्थानीय स्तरमा पाइने अन्न र आलु लैजाने गरेको उनको दाबी छ । चरिचरन प्रशस्त रहेको ताराखोलाबाट खसी, बोका पनि निर्यात हुने गरेका छन् । यिनै सम्भावना देखेर पालिकालाई ग्राम–उद्योगको योजनामा पार्न हौसिएका हुन् अध्यक्ष घर्तीमगर ।

कहिलेकाहीँ गाउँतिर डुल्दा भने उनी खिन्न हुन्छन् । कसैको घरअगाडिको बाटो बिग्रिए पनि पालिका अध्यक्षले बनाइदिनुपर्छ भन्ने सोचले ग्रस्त छ समाज । आफैंले गरेर हुने कामका लागि पनि जनप्रतिनिधि गुहारिन्छ । यस्तो प्रवृत्तिले हरेकलाई हरेक काममा परनिर्भर बनाएको छ । उनी विगत केलाउँछन्, ‘विद्रोहको राजनीति गरिरहँदा समाजलाई अलि बढी नकारात्मकता शिक्षाले प्रशिक्षित गरिएछ कि भन्ने पनि लाग्छ ।’ सामाजिक एकता अलि बढी खलबलिएको उनले स्विकारे ।

पहिला सामाजिक कामका लागि जुर्मुराउने समाज ०६२/०६३ को राजनीतिक परिवर्तनपछि सबै काम सरकार वा जनप्रतिनिधिले नै गरिदिनुपर्छ भन्ने मानसिकताले ग्रस्त भएको घर्तीमगरको अनुभव छ । ‘त्यसैले अबको आवश्यकता समाजको रूपान्तरण हो,’ उनले भने ।

स्थानीय तहको अनुभवले प्रदेश र संघीय सरकारको नीति निर्माण तहसम्म पुग्ने घर्तीमगरको लक्ष्य छ । ‘यति बेला जनता दास र रैतीबाट नागरिक भएका छन्,’ उनले भने, ‘अब राज्यले समृद्धिका लागि जनशक्ति परिचालन गर्न सक्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्