२१ बैशाख २०८१, शुक्रबार

 

अवसर पाए महिलाले जुनसुकै कठिन काम राम्ररी गर्न सक्छन् : श्रेष्ठ

निर्मला श्रेष्ठ, अध्यक्ष, बागलुङ समाज कल्याण महिला समूह

बागलुङ समाज कल्याण केन्द्र २०३८ सालमा स्थापना भएको यो । त्यसको २४ वर्षपछि समाजले बागलुङका महिलाहरू पनि संगठित हुनुपर्छ भनेर महिला समूह गठन गरिदियो । समाज हुँदैनथ्यो त महिला समूह पनि हुँदैनथ्यो । २०६४ असार ६ गते विधिवत् रूपमा महिला समूह स्थापना गरियो । समूहको पहिलो साधारणसभाको खर्च समाजले नै बेहोरेको थियो ।

समूह स्थापना हुनुमा पुष्पमान श्रेष्ठ, चमेली शाक्य र उर्मिला श्रेष्ठको ठूलो हात छ । महिलाहरूलाई छुट्टै समूह स्थापना गरेर सामाजिक सेवामा लगाउनुपर्छ भन्ने उहाँहरूको धारणाबाटै यो सम्भव भएको हो । समूहको संस्थापक अध्यक्ष चमेली शाक्य हुनुभयो ।

संस्था स्थापना गर्दा हामीसँग आर्थिक स्रोत थिएन । कार्यसमितिमा भएका १२ जना साथीहरूले एक–एक हजार राखेर कोष खडा गरी प्रत्येक महिनाको १५ गते केही नयाँ काम गर्ने सहमति भयो ।

संस्थापकदेखि अहिलेसम्मका अध्यक्षहरूले त्यो सहमतिलाई निरन्तरता दिइरहेकै छन् । त्यसबीच हामीले प्रत्येक वर्ष बागलुङस्थित सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई जुत्ता, शैक्षिक सामग्री वितरण गर्ने र क्यालेन्डर निकाल्ने काम ग¥यौं । संस्था स्थापना भएदेखि अहिलेसम्म प्रत्येक महिना केही नयाँ काम गरिरहेकै छौं ।

मेरो पालामा वृक्षरोपण, संस्कृति संरक्षण र आँखा परीक्षण शिविर सञ्चालनलगायतका काम भए । प्रत्येक महिनाको १५ गते ४० देखि ५० जना महिला उपस्थित भई कुनै न कुनै सेवा र सचेतनामूलक काम गरिन्छ । संस्थाको आर्थिक स्रोत भनेकै त्यहाँ संलग्न महिलाहरूबाट उठाइने रकम हो । त्यसै गरी उठाइएको रकमबाट अहिले करिब ५८ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

पहिले हामी ढुकुटी भन्थ्यौं, अहिले गुठी भनेर नाम राखेका छौं । काम गर्न सजिलो होस् भनेर सहभागी महिलालाई विभिन्न समूहमा विभाजन गरेका छौं । त्यहाँबाट उठेको पैसाको एक प्रतिशत समूहलाई दिने गरेका छौं ।

संस्थापक अध्यक्ष चमेली शाक्य, त्यसपछि रसुमिला हुँदै अहिले लक्ष्मीविजया राजभण्डारी समूहको नेतृत्व तहमा हुनुुहुन्छ । यसबीचमा संस्थाकै कारण महिलाहरूको सोचमा निकै परिवर्तन आइसकेको छ । समाजमा आफ्नो खुसीले सहयोग गर्ने महिलाहरू बढेका छन् । महिलाहरूलाई व्यक्तिगत रूपमा समाजलाई केही गर्नुपर्छ भनेर प्रेरित गरेको छ ।

समूहका केही महिलाहरूको उदाहरणीय कामले भर्खरै आबद्ध भएका महिलाहरूमा पनि सहयोग गर्नुपर्छ भन्ने भावना जगाएको छ । अहिले समूहले भन्दा बढी व्यक्तिले समाजलाई सहयोग गरेका छन् । विद्यालयलाई सहयोग गर्न परे कार्यसमितिका साथीहरूले उठाएर दिन्छौं । कोही महिलालाई समस्या परेको छ भने समूहको पैसा नभई त्यहाँ उपस्थित महिलाहरूबाटै उठाएर सहयोग गर्दै आएका छौं ।

२०७२ सालको भूकम्पबाट बागलुङका कन्यामन्दिर मावि र विद्यामन्दिर माविमा क्षति भयो । कन्यामन्दिरलाई बागलुङबाट काठमाडौं आई बसोबास गरेका महिलाहरूले सहयोग गरे । विद्यामन्दिर माविलाई पनि काठमाडौंमा बसेर विभिन्न पेसा–व्यवसाय गर्दै आएकाहरूले मद्दत गरे ।

हाम्रो समूहका तर्फबाट पनि विद्यालयलाई ट्यांकी, ह्वाइट बोर्ड उपलब्ध गराउनुका साथै कक्षाकोठा पुनर्निर्माणमा भरथेग गरियो । विद्यालयको ग्राउन्ड बनेको थिएन । त्यसलाई महिला समूहकै तर्फबाट बनाउने घोषणा गरियो ।

यसका लागि काठमाडौंका साथीहरूबाट १ लाख ६० हजार रुपैयाँ उठाएर काम ग¥यौं । महिलाहरू समाजसेवामा सक्रिय हुन चाहे पैसा अभाव वा घरबारले रोक्दैन ।

हाम्रो समूहले महिला क्षमता विकासका लागि तालिम पनि सञ्चालन गर्ने गरेको छ । बागलुङ समाज कल्याण केन्द्रले महिला समूह स्थापनापछि युवा समूह पनि खडा गरेको थियो । तर युवा समूहले महिला समूहले जसरी काम गर्न सकेन । यसले के देखाएको छ भने जिम्मा दिइए महिलाहरूले पनि जुनसुकै काम राम्रोसँग गर्न सक्ने रहेछन् ।
हामीले जुनसुकै काम समूहमै गर्दै आएका छौं । वास्तवमा युनिटी नै सबैभन्दा ठूलो शक्ति रहेछ ।

मनलाई आफ्नो वशमा राखेर आत्मविश्वासका साथ लागे जुनसुकै काम सहजै गर्न सकिन्छ । संस्थामा रहेका सबै महिलाहरू अझै खुलेर समाजसेवामा लाग्नुभएको छैन । हामी उहाँहरूलाई खुलेर समाजसेवामा लाग्नुपर्छ भनेर झकझक्याइरहेका छौं ।

कार्यसमितिमा आउने नयाँ र पुराना सबैलाई मिलाएर लैजानुपर्ने मेरो धारणा छ । यही कुरा संस्थामा पनि बारम्बार भन्दै आएकी छु । हामीे समाजसेवामा थेरै भए पनि खर्च गर्नुपर्छ भनेर सहभागी महिलाहरूलाई प्रेरित गरिरहेका छौं । घरमा कुनै खुसियाली हुँदा अथवा विदेशबाट परिवारका कोही सदस्य आउँदा उहाँहरू सहयोग गर्नुहुन्छ पनि ।
कोषमा जम्मा भएको रकमबाट महिलाहरूले व्यवसायमा लगानी पनि गर्नुभएको छ । अनि यसरी लगेको रकमको हरेक महिनाको १५ गते किस्ता बुझाइन्छ । कोष वृद्धि गरी संस्थालाई अझ मजबुत र दीर्घकालीन बनाउन आवश्यक छ । यसका लागि नयाँ पुस्तालाई पनि जोड्ने संस्थाको उद्देश्य छ ।

अझै पनि बागलुङका महिलाहरूलाई भने जसरी संस्थामा सहभागी गराउन सकेका छैनौं । उहाँहरूलाई हरेक महिनाको १५ गते १ देखि ३ बजेसम्म समय दिनुहोस् भनेर आग्रह गरिरहेकै छौं । यो समूह बागलुङमा पनि गठन भएको छ । आजीवन सदस्य १ सय १० जना पुगिसकेका छन् । यो संस्थालाई सबैको साझा बनाउनुपर्छ । सबैलाई समेट्नुपर्छ ।

(कुराकानीका आधारमा )

प्रतिक्रिया दिनुहोस्