
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खनाल–नेपाल समूहका चार नेता बालुवाटार पुगेका छन् । विश्वासको मत लिने समय नजिकिँदै जाँदा अत्तालिएका ओलीले नेपाल समूहका नेतालाई फकाउने प्रयास गरिरहेका छन् ।
वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेर आफ्नो पक्षमा लिने प्रयास गरेका छन् ।
छलफलका लागि नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई बालुवाटारमा छन् । छलफलमा अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छन् ।
पार्टीलाई कुनै न कुनै रुपमा २०७५ जेठ २ को अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन माधव समूहका नेताहरुले जोड दिएका छन् । त्यसो त ओलीले भुसाल, भट्टराईलगायतका नेताहरुसँग पनि गएराति देखि नै बालुवाटारमै बोलाएर घण्टौं छलफल गरेका थिए।