
आईएमई फाउन्डेसनले कोभिड–१९ रोकथाम तथा संक्रमितको उपचारका लागि सरकारलाई करिब तीन करोड रुपैयाँ मूल्यका स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
आईएमई फाउन्डेसनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रूपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
फाउन्डेसनले पोखरास्थित गण्डकी प्रादेशिक अस्पताल, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, धनगढीस्थित सेती प्रादेशिक अस्पताल र काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल प्रत्येकलाई २० थानका दरल पुग्ने गरी ती सामग्री सहयोग गरेको आईएमई समूहका प्रवक्ता राजु पौडेलले जानकारी दिए ।
उनका अनुसार अनुसार फाउन्डेसनले विभिन्न समूदायद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटरसमेत उपलब्ध गराएको छ ।
यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब १ करोड २८ लाख लगानीमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरेको पौडेलले जानकारी दिए ।
प्लान्टको अर्डर भइसकेको उनले बताए । पौडेलका अनुसार यसअघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका नेपालीका परिवारको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब १ सय परिवारलाई प्रतिव्यक्ति ५८ हजारका दरले (करिब ६० लाख) राहत उपलब्ध गराएको थियो ।
फाउन्डेसनले मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरूमा सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थासँग हातेमालो गरेर अघि बढ्ने गरेको पौडेलले जानकारी दिए ।
‘आईएमई फाउन्डेसन आईएमई ग्रुपअन्तर्गत सञ्चालित मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ,’ उनले भने ।