२२ बैशाख २०८१, शनिबार

 

धौलागिरि समाज गण्डकी सभ्यता जोगाउनकै लागि गठन भएको हो

–केदारनाथ गौतम
अध्यक्ष, धौलागिरि समाज नेपाल

मैले ३१ वर्ष कर्मचारी सञ्चय कोषमा काम गरेँ, डेपुटी चिफ अफिसरका रूपमा । दुई वर्षअघि अवकाश लिएँ । त्यसयता भने आफ्नो ठाउँको सेवा गर्नुपर्छ भनेर बौद्धिक जमातलाई समेटी गण्डकीको प्रभाव क्षेत्र बचाउने अभियानमा छु ।

हाम्रो जन्मथलो धौलागिरि भए पनि कर्मथलो काठमाडौं हो । विभिन्न क्षेत्रमा जोडिएका मान्छेका अनुभवलाई समेटेर त्यस क्षेत्रको सम्भावित आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय पक्षको अनुसन्धान गर्ने, विशेष गरी कालीगण्डकीमा पाइने शालिग्रामको महत्त्व विश्वजनमानसमा पु¥याउने हाम्रो उद्देश्य छ ।

यस क्षेत्रको सभ्यताबारे इतिहासपुराणमा पनि उल्लेख छ । यस्तो स्थानलाई संसारभर प्रचारप्रसार गर्न सके धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसैका लागि नेपाल सरकारका मुख्यसचिवहरू, पूर्वसचिव, उद्योगी, डाक्टर, इन्जिनियर मिलेर धौलागिरि समाज निर्माण गरेका छौं ।

हाम्रो यो टिमले धौलागिरि क्षेत्रमा के–कस्ता सम्भावना छन्, अनुसन्धान गर्नेछ । अनि यो काम स्वयंसेवाका रूपमा हुन्छ । कालीगण्डकीलाई पवित्र राख्न विभिन्न किसिमका जनचेतनामूलक काम गर्दै छौं । गण्डकी सभ्यता जोगाउनकै लागि धौलागिरि समाज गठन गरेका हौं । आफू जन्मेको ठाउँलाई केही गर्नुपर्छ भन्ने निःस्वार्थ भावना छ सबैको छ ।

कर्मभूमिमा बसे पनि हाम्रो शरीरमा कालीगण्डकीकै हावा–पानी बगिरहेको छ । समाजमा धौलागिरिका ४ जिल्लालाई समेटेका छौं । यसभित्र विभिन्न १७ वटा समिति छन्– पर्यटन, संस्कृति, उद्योग, बैंक, वित्तीय संस्था आदि । साबिकको धौलागिरि अञ्चलका प्रत्येक जिल्लामा समिति छन् ।

संस्थामा आबद्ध हुन आजीवन सदस्यले २५ सय, संस्थापक सदस्यले ७ हजार ५ सय, विशिष्ट संस्थापक सदस्यले १२ हजार ५ सय, संरक्षकले ५० हजार, विशिष्ट संरक्षकले १ लाख रुपैयाँ र प्रधान संरक्षकले ५ लाख रुपैयाँ तिर्नुपर्ने मापदण्ड बनाएका छौं । त्यो पैसाले अक्षय कोष बनाउँदै छौं । अहिले १ करोडको अक्षयकोष निर्माण चरणमा छ । २५ लाख जम्मा भइसक्यो । कार्यक्रम गर्नका लागि कोहीकसैसँग सहयोग पनि लिन्छौं ।

विशेष गरी यो गैरराजनीतिक संस्था हो । यसले गण्डकी सभ्यता र धौलागिरिका मठमन्दिरको प्रचारप्रसार र अनुसन्धान गर्छ । यसमा राज्यले विभिन्न चरणमा सहयोग पनि गरेको छ । जस्तै स्मारिका प्रकाशन गर्दा पर्यटन बोर्डले सघायो । एनआरएनएसँग पनि धौलागिरिमा लगानीका क्षेत्रहरू पहिल्याएर अन्तरक्रिया गरेका छौं । हामीले दिएका प्रस्तावहरूमा उहाँहरूले अध्ययन गरिरहनुभएको छ ।

हामीले लगानी गर्दैनौं तर लगानी गर्ने वातावरण बनाइदिन्छौं । यहाँ स्वेच्छाले सहयोग गर्ने हो । हामीले जीवनभर लियौं, अब दिनका लागि धौलागिरि समाज निर्माण गरेका हौं । यसअघि स्मारिका निकालेपछि बचेको पैसा पनि अक्षयकोषमै राखेका छौं । धौलागिरि समाज अरू संस्थाभन्दा किन फरक छ भने यो अध्यात्मसँग जोडिएको छ । यो नाफा र मानप्रतिष्ठाका लागि होइन, सेवाका लागि तत्पर संस्था हो ।

धौलागिरि क्षेत्रले जन्माएका कालाकारलाई यो संस्थाले स्रष्टाका रूपमा सम्मान गरेको छ । यसअघि अन्तर्राष्ट्रिय एनआरएनए सम्मलेन गरियो।

अब मेरो कार्यकालमा पनि त्यस्तै किसिमको सम्मेलन गर्ने योजना छ । त्यसमार्फत धौलागिरि क्षेत्रका सम्भावित क्षेत्रको कार्यपत्र बनाएर विभिन्न लगानीकर्ताको ध्यान केन्द्रित गर्नेछौं । कालीगण्डकीको उद्गमदेखि त्रिवेणीसम्मका धार्मिक तीर्थस्थल, त्यहाँका बासिन्दा, पर्यटकका लागि बासको व्यवस्था तथा यात्राविवरण समेटेर स्मारिका प्रकाशन गरेका छौं । आगामी वर्ष यसैलाई परिमार्जन गरेर प्रकाशित गर्छौं ।

हामीले गण्डकी सभ्यता बचाउन भनेर महाभियान सुरु गरेका छौं । गण्डकीले तीन प्रदेशलाई छुन्छ– गण्डकी, लुम्बिनी र वाग्मती । गण्डकीमा दामोदर कुण्डदेखि बग्ने नदी र गोसाइँकुण्डदेखि प्रवाहित भई त्रिशूली नदी देवघाटमा गएर मिसिन्छन् ।

ती नदीलाई मिलाएर हामीले महाभियान सुरु गरेका हौं । यसमार्फत विभिन्न क्षेत्रका विद्वान्हरूमाझ त्यस क्षेत्रको महत्त्वबारे बहस चलाउँछौं । गण्डकीलाई शुद्ध बनाउने, शालिग्रामको महत्त्वबारे जनचेतना फैलाउँछौं ।

अहिले कालीगण्डकी दोहन तीव्र छ । ठाउँठाउँमा डोजर चलाइएका छन् । त्यसैले यसको स्वरूप नबिगारौं भनेर सूचना–पाटी टाँस गर्दै छौं ।

प्रतिक्रिया दिनुहोस्