१५ बैशाख २०८१, शनिबार

 

कालिगण्डकीमा बन्जी र स्विङ फेरि निरन्तर

निषेधाज्ञाका कारण लामो समय थलिएको कुस्मा–बागलुङ बन्जी पुल फेरि सञ्चालनमा आएको छ । कोरोनाको दोस्रो लहरअगाडि दैनिक एक सयको हाराहारी पर्यटक यहाँ बन्जी गर्न आउँथे ।

कोरोनाकै कारण उद्घाटनमै ढिलाइ भएको बन्जी र स्विङ दोस्रो लहरले थप प्रभावित भएको थियो । पर्वतको कुस्मा र बागलुङ नगरपालिका जोड्ने गरी कालीगण्डकीको खोंचमा बनाइएको पुलमा बन्जी र स्विङ पनि समेटिएका छन् ।

साहसिक पर्यटकको पर्खाइमा रहेको उक्त पुल निषेधाज्ञा खुकुलो भएसँगै फेरि सञ्चालनमा ल्याइएको द क्लिफ प्रालिले जनाएको छ । सोही कम्पनीले यहाँ बन्जी र स्विङ गराउँदै आएको छ ।

दोस्रो लहरपछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर साताअघिदेखि खुला गरिएको प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रिसोर्टसमेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्रार्थना हातलगायत अन्य संरचना पनि थपिएका छन् । यी सबै संरचना बागलुङको बलेवामा पर्छन् ।

‘अहिले दैनिक २०÷२५ जनाले पुल र रिसोर्ट अवलोकन तथा ८÷१० जनाले बन्जी र स्विङ गर्न थालेका छन्, स्वास्थ्यका मापदण्ड अपनाएर एक हप्तादेखि सुरु गरेका छौं,’ उनले भने, ‘दुई महिना ठप्प भयो, अहिले त कर्मचारीलाई तलब खुवाउन पुग्ला । पूर्ण रूपमा कोरोना साम्य नभएसम्म लक्ष्यअनुरूपको साहसिक पर्यटक आउन समस्या छ, म्याग्दी, मुस्ताङलगायतका पदमार्ग खुला भएमा बल्ल साहसिक पर्यटक आउनेछन् ।’

उक्त प्रालिअन्तर्गतका साहसिक खेल र रिसोर्टमा ७० जना कर्मचारीले रोजगारी पाएका छन् । ५० प्रतिशत बाह्य पर्यटकको अपेक्षा गरिको बन्जी र स्विङमा अहिले आन्तरिक पर्यटक मात्र छिटपुट आउन थालेका छन् ।

५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालिगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्ल्याटफर्म छ । नदीबाट पुलको उचाइ २२८ मिटर छ । कम्पनीले यसलाई विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ ।
बन्जी र स्विङ दुवैको शुल्क ७ हजार तोकिएको छ । त्यस्तै जोडी स्विङ गर्न १२ हजार शुल्क छ । प्रालिको अर्को आकर्षण गुलेली पिङ हो । कालिगण्डकी खोंचको स्काई साइक्लिङ २ सय २८ मिटर अग्लो रहेको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्