अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासलगायत विभिन्न अमेरिकी कम्पनीमा कार्यरत १२७ जना काठमाडौं आइपुगेका छन् ।
जसमध्ये ११८ जना नेपाली र ९ भारतीय नागरिक हुन् । उनीहरु कुबेतहुँदै काठमाडौं आइपुगेका हुन्। जजिरा एयरको विमानबाट मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल नागरिक उडडयन प्राधिकरणका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए।
उद्दार गरिएका सबै नागरिकको व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ । उनीहरुलाई विमानस्थलबाट सिधै धापासीमा रहेको आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले जानकारी दिएका छन् । उनका अनुसार सबैको एन्टिजेन परीक्षण गरिनेछ। रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित ठाउँमा पठाइनेछ ।
विदेश नागरिकहरुको हकमा भने नेपालस्थित राजदूतावासले स्वदेश फर्काउन चाहेमा उनीहरुको जिम्मा लगाइने भएको छ। अफगानिस्तान तालिबानी संकटमा फस्दै गर्दा त्यहाँबाट अमेरिका लगायत अन्य देशले भने आफ्ना नागरिकलाई फिर्ता गर्ने क्रम सुरु गरिसकेका छन्। त्यहाँ १५ हजार बढी नेपाली रहेको अनुमान गरिएको छ।













































































































































































































