बागलुङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको दशौं अधिवेशन लिस्बनमा सम्पन्न भएको छ। अधिवेशनबाट सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्ष पदमा बागलुङ नगरपालिका–८, बेशी जिमालथर घर भएका बमबहादुर जिसी निर्वाचित भएका छन् ।
लामो समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै आएका जीसीले अध्यक्ष निर्वाचित भएसँगै धन्यवाद ज्ञापन गर्दै भने, यो जीत केवल मेरो होइन, सम्पूर्ण प्रवासी नेपाली समुदायको हो।
अबको दुई वर्षमा हामी संस्थालाई अझ प्रभावकारी, मजबुत र समावेशी बनाउनेछौँ। ४८ वर्षीय जीसी सन् २०१० देखि पोर्चुगलमा बसोबास गर्दै आएका छन् ।
सुरुवाती दिनमा उनले एक कृषि कम्पनी सञ्चालन गरी नेपाली तथा भारतीय कामदारहरूलाई रोजगारीमा जोड्न मद्दत गरेका थिए ।
हाल उनी लिस्बनमा ‘शुशी रेस्टुरेन्ट’ सञ्चालन गर्दै आइरहेका छन् । सामाजिक सेवा, आपतकालीन उद्धार र नेपाली समुदायलाई एकतावद्ध गर्न उनका पहलहरू पहिलेदेखि प्रशंसित हुँदै आएका छन्।
नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा सुरज विष्ट, उपाध्यक्षमा भरतप्रकाश घर्तीमगर, महिला उपाध्यक्षमा माया खरेल र महासचिवमा गुरु पेमा तामाङ चयन भएका छन् ।
साथै, आठ जना अन्य उपाध्यक्षहरू पनि समितिमा निर्वाचित भएका छन्। तथा अन्य दर्जनभन्दा धेरै कार्यसमिति सदस्यमा समेटिएका छन् ।
अध्यक्ष जिसीले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरूको अधिकार, पहिचान र सम्मानको संरक्षण, युवाहरू र महिलालाई नेतृत्वमा समेट्ने, आपतकालीन राहत कोष सुदृढ गर्ने, नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, तथा प्रवासी विद्यार्थी र श्रमिकहरूको समस्या समाधान गर्ने योजना रहेको बताएका छन् ।
साथै, नेपाल–पोर्चुगल सम्बन्ध विस्तारमा पनि संघको भूमिका प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्वअध्यक्ष उमेश खड्काको कार्यकालको आर्थिक प्रतिवेदनलगायत संस्थाको प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो ।
नवनिर्वाचित नेतृत्वले आगामी दुई वर्षमा एनआरएनए पोर्चुगललाई अझ सक्रिय, उत्तरदायी र समावेशी संस्थाको रूपमा स्थापित गर्ने दृढ संकल्प व्यक्त गरेको छ ।













































































































































































































