१५ बैशाख २०८१, शनिबार

 

माल्दिभ्समा अघिल्लो वर्षभन्दा १०४.४ प्रतिशतले बढे पर्यटक

माल्दिभ्समा सन् २०२१ को अहिलेसम्मको अवधिमा ८ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले बुधबार जनाएअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा ८ लाख ९ हजार ७६४ जना पर्यटक आएका छन् ।

अघिल्लो वर्ष सन् २०२० को तुलनामा १०४.४ प्रतिशतका दरले पर्यटक संख्यामा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा ३ महिना माल्दिभ्सको सीमानाका बन्द गरिएको थियो । त्यही कारणले अघिल्लो वर्ष पर्यटकको संख्यामा कमी आएको विश्लेषण गरिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अगस्ट महिनामा १ लाख ४३ हजार ५९९ पर्यटक माल्दिभ्स भित्रिएका छन् । औसतमा दैनिक झन्डै ४ हजार पर्यटक आउने गरेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

माल्दिभ्स भित्रिएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएको तथ्यांक छ । कुल पर्यटकमध्ये २४.४ प्रतिशत भारतीय रहेको अधिकारीहरूले जनाएका छन् । त्यसपछि सबैभन्दा धेरै रूसबाट २०.४ प्रतिशत पर्यटक आएका छन् ।

प्रतिक्रिया दिनुहोस्